प्रेम देवान
विराटनगर । मोरङको उत्तरी पहाडी क्षेत्रस्थित मिक्लाजुङ गाउँपालिका–३ को निसेलुङ पार्कमा लोपोन्मुख घुमन्ते राउटे समुदाय आइपुगेपछि अहिले उक्त क्षेत्र आन्तरिक पर्यटक र स्थानीयवासीका लागि आकर्षणको केन्द्र बनेको छ ।

कर्णाली प्रदेशको सुर्खेतबाट आएका २५ जना राउटे समुदायका सदस्यहरू जेठ १ गते साँझ निसेलुङ पार्क पुगेका हुन् । उनीहरूलाई आगामी जेठ १० गतेसम्म राखिने व्यवस्था गरिएको निसेलुङ पर्यटन समितिका अध्यक्ष खगेन्द्र मादेनले जानकारी दिए ।

समितिले “एकता घुमन्ते सभ्यता लोपोन्मुख राउटे जाति मेला” विशेष कार्यक्रम आयोजना गरी राउटे समुदायको मौलिक भाषा, संस्कृति तथा जीवनशैली नजिकबाट अवलोकन गर्ने अवसर प्रदान गरेको जनाएको छ । मेलामा आउनेहरूले राउटे समुदायले हस्तकलाबाट तयार पारेका सामग्री खरिद गरेर आर्थिक सहयोगसमेत गर्न सक्ने अध्यक्ष मादेनले बताए ।

स्थानीय युवा तथा पार्क व्यवस्थापन समितिले राउटे समुदायको चाहनाअनुसार बसोबासका लागि पालसहितका अस्थायी टहरा निर्माण गरिदिएको छ । राउटेसँगै सुर्खेतबाट आएका संरक्षण सहयोगी लालबहादुर खत्रीका अनुसार राउटे समुदायले पछिल्लो ८ वर्षमा १ सय २२ स्थानमा बसोबास सारिसकेको छ । उनीहरू हरेक तीन–तीन महिनामा नयाँ स्थानमा बसाइँ सर्ने गर्छन् ।

देशकै पहिलो ‘उल्टो घर’का कारण चर्चित बनेको निसेलुङ फनपार्क अहिले राउटे समुदायको आगमनसँगै थप चहलपहलपूर्ण बनेको छ । उल्टो घर, भ्यू टावर र राउटे समुदायको अवलोकन गर्न दैनिक ठूलो संख्यामा आन्तरिक पर्यटक पुग्ने गरेका छन् ।

दमकबाट साथीहरूसँग घुम्न आएकी लिला लिम्बुले सामाजिक सञ्जाल र युट्युबमा मात्रै देखेको राउटे समुदायलाई प्रत्यक्ष रूपमा देख्न पाउँदा निकै खुशी लागेको बताइन् । त्यस्तै मिक्लाजुङ–३ की कल्पना राईले पहिलोपटक राउटे समुदायलाई नजिकबाट देख्दा आफू दंग परेको प्रतिक्रिया दिइन् ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत उर्लाबारीको किसान चोकबाट करिब १५ किलोमिटर उत्तरमा पर्ने निसेलुङ पार्क पछिल्लो समय मोरङको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित हुँदै गएको छ ।

