विराटनगर जेष्ठ ५ ,
नेपाली मदिरा उद्योगले अन्तर्राष्ट्रिय स्तरमा ठूलो सफलता हासिल गरेको छ। द हिमालयन रिजर्भ ले प्रतिष्ठित टोकियो ह्विस्की एण्ड स्पिरिट्स कम्पिटिसन २०२६ मा कास्य पदक जित्दै नेपालको नाम विश्व मञ्चमा पुनः उजागर गरेको हो।
जापानका अनुभवी विशेषज्ञहरूद्वारा ‘ब्लाइन्ड टेस्टिङ’ विधिबाट मूल्यांकन गरिने यस प्रतियोगितामा विश्वका अग्रणी डिस्टिलरीसँग प्रतिस्पर्धा गर्दै नेपाली ब्रान्डले आफ्नो उत्कृष्ट स्वाद, गुणस्तर र शिल्पकला प्रमाणित गरेको छ।
उत्पादक कम्पनी प्रिमियर डिस्टिलरी लिमिटेड का लागि यो उपलब्धि ऐतिहासिक कोशेढुङ्गा बनेको छ। कम्पनीले यसअघि पनि सन् २०२५ मा ब्रसेल्समा आयोजित प्रतिष्ठित मोन्ड सेलेक्सन मा स्वर्ण पदक जितिसकेको थियो, जसलाई “गुणस्तरको नोबेल पुरस्कार” समेत मानिन्छ।
यो पछिल्लो सफलताले नेपाली ह्विस्की उद्योग अब विश्वस्तरीय प्रतिस्पर्धामा प्रवेश गरिसकेको स्पष्ट संकेत दिएको छ। हिमालय क्षेत्रमा उत्पादित मदिरा अन्तर्राष्ट्रिय बजारमा स्वीकारिनु केवल एउटा ब्रान्डको जित मात्र नभई सम्पूर्ण नेपाली डिस्टिलरी क्षेत्रको गौरवको विषय बनेको छ।
विशेषज्ञहरूका अनुसार यस उपलब्धिले नेपाली उत्पादन, शिल्प र नवप्रवर्तनलाई विश्व बजारमा थप विश्वास दिलाउनेछ र “नेपाली ह्विस्कीको नयाँ युग” सुरु भएको संकेत गरेको छ।