सोनु साह
विराटनगर । विराटनगर महानगरपालिका भित्र घर–घरबाट उठाइने फोहर समयमा व्यवस्थापन नहुँदा स्थानीयवासीको गुनासो दिनप्रतिदिन बढ्दै गएको छ। विगत केही महिनादेखि फोहर संकलन, बिसर्जन नियमित रूपमा भइरहेको गुनासो बढ्दो छ । स्थानीयले घर तथा सडकमा उत्पादन भएको फोहोर थुप्रिँदा वातावरण प्रदूषित हुनुका साथै स्वास्थ्यमा असर पर्ने, लामखुट्टे बढ्न थालेको बताएका हुन् ।
व्यवसायीहरूले पनि फोहर व्यवस्थापनमा ढिलाइ हुँदा बजार क्षेत्र प्रभावित बनेको बताएका छन्। उनीहरूका अनुसार फोहर बोकेका गाडीहरू बजारमै दुई–दुई दिनसम्म रोकिने गरेको छ । फोहर समयमा नउठ्नुको मुख्य कारण महानगरले तोकेको डम्पिङ साइटसम्म पुग्ने सडक निर्माण पूरा नहुनु रहेको बताइएको छ। सडक निर्माणाधीन छ । तर, समयमा काम नहुँदा समस्या बढ्दो छ । फोहर बोकेका गाडीहरू खेत हुँदै वैकल्पिक बाटो प्रयोग गर्न बाध्य छन्।
तर पछिल्ला दिनमा वर्षा र खेतमा पानी जम्न थालेपछि गाडीहरू हिलोमा फस्ने तथा आवतजावतमा समस्या हुने गरेको चालकहरूले बताएका छन्। जसका कारण दैनिक फोहर व्यवस्थापन थप प्रभावित बनेको देखिन्छ।
केही महिनाअघि डम्पिङ साइटको विषयलाई लिएर विवाद भएपछि हाल वडा नम्बर १६ दरैयातर्फ जाने सडक नजिकै नयाँ डम्पिङ साइटको व्यवस्था गरिएको थियो। जिल्ला प्रशासन कार्यालय र विराटनगर महानगरपालिकाबीच भएको सहमतिअनुसार पहिलो प्राथमिकतामा कच्ची सडक तत्काल निर्माण गर्ने निर्णय भए पनि हालसम्म सडक निर्माण पूरा हुन सकेको छैन।
उक्त सडक विगत पाँच महिनादेखि निर्माणाधीन अवस्थामा छ। बाटो नबन्दा फोहर बोकेका गाडीहरू वैकल्पिक मार्ग प्रयोग गर्न बाध्य भएका छन्। वर्षाका कारण बाटो अत्यधिक हिलो र चिप्लो बनेपछि दैनिक फोहरका गाडी पालो प्रणालीमा हिलो छिचोल्दै डम्पिङ साईट पुग्छन्न् ।
विराटनगर महानगरपालिकाको शहरी विकास तथा भौतिक पूर्वाधार महाशाखाका प्रमुख अर्जुन थापाले सडक निर्माण कार्य तीव्र रूपमा भइरहेको बताए। उनका अनुसार उक्त सडक केसलिया तिर नजिक निर्माण गर्नुपर्नेछ । जसमा पाँच फिट उचाईको ड्याम बन्नेछ । त्यहि भएर चरणबद्ध रूपमा माटो तथा ग्राभेल हाल्नुपर्ने अवस्था छ।
“एकैपटक माटो र ग्राभेल थुपार्दा बाटो दिगो हुँदैन, त्यसैले लेयर अनुुसार माटो पुरेर रोलिङ, अनि पुनः माटो फिलिङ र रोलिङ गर्नुपर्ने अवस्था रहेको ,” उनले भने, “काम सम्पन्न हुन अझै केही दिन लाग्न सक्छ।” अब तत्काललाई र्याबिस हालेर रोलिङ गर्ने तयारी गरिएको छ । त्यसपछि ग्राभेल गरिनेछ ।
उनका अनुसार हाल सडक निर्माणकै कारण वैकल्पिक साना बाटाहरू प्रयोग भइरहेको र वर्षाका कारण गाडी सञ्चालनमा थप समस्या आएको हो । यता, फोहर डम्पिङ साइटसम्म पुग्न नसकेपछि कतिपय अवस्थामा पुरानै डम्पिङ साइटमा फोहर फाल्ने गरिएको स्थानीयको आरोप छ।