रामेछाप। रामेछापको उमाकुण्ड गाउँपालिकाले सो गाउँपालिकाका सबै वडालाई जोड्ने मध्यमार्गी सडकलाई गाउँपालिकाको गौरवको आयोजनाको रूपमा अघि बढाएका छ।
जिल्लाको सबैभन्दा दुर्गम हिमालसँग जोडिएको सो गाउँपालिका ७ वटै वडालाई गाउँपालिकाको केन्द्रसम्म जोड्ने ७५ किलोमिटर लामो सो सडकको ट्र्याक खोलेपछि गाउँपालिकाले स्तरोन्नतिको काम सुरु गरेको छ ।गाउँपालिकाका सवइञ्जिनियर गजेन्द्र कार्कीका अनुसार यस वर्ष सडकको स्तरोन्नति कार्यक्रम अन्तर्गत सडक सोलिङ, ढलान, कटिङ, नाला निर्माण, डस्ट राखेर पेल्नेलगायतका काम भइरहेका छन् । एरोन पिआर जेभीले २ करोड ५० लाख रुपैँयाको ठेक्कामा सो काम गरिरहेको छ
गाउँपालिकाको केन्द्र रहेको वडाबाट नै सडकलाई स्तरोन्नति गर्दै लैजाने योजना अनुसार गाउँपालिको केन्द्रबाट वडा नं १ तथा वडा नं ७ दुवैतर्फ स्तरोन्नतिको काम भइरहेको
छ ।
निर्माण कम्पनीले ठेक्का कबोल गरेका कामको ७५ प्रतिशत भन्दा बढी काम गरिसकेको र बाँकी काम पनि यसै आर्थिक वर्षमा सम्पन्न गर्ने उनले बताए ।
‘सबै वडामा अत्यावश्यक ठाउँमा सुधारको काम भइरहेको छ, धेरै काम भने वडा नं ४, ५ र ३ मा भइरहेको छ’, कार्कीले भने ।
सडक गाउँपालिकाको मेरुदण्डको रूपमा रहेकाले गौरवको योजनाको रूपमा राखिएको गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले जानकारी दिए ।
सडक नहुने हो भने सर्वसाधारणलाई गाउँपालिका आउनै दिनभरि लाग्ने अवस्था रहेकाले पनि सडकलाई प्राथमिकतामा राखिएको सुनुवारले बताए ।
निर्माण भएको सडकको स्थलगत अनुगमन र नापजाँचको काम भइरहेको गाउँपालिका उपाध्यक्ष सावित्री सुनुवारले बताइन् ।
वडा नं १ र २ मा भएको कामको स्थलगत अनुगमन तथा नाप जाँचको काम सम्पन्न गरिएको उनले जनकारी दिइन् ।