विराटनगर । विराटनगरस्थित ‘द विज्ञापन’ को आयोजनामा आगामी जेठ २३ गतेदेखि डिजिटल अनलाइन गेम शो ‘द ३० सेकेन्ड च्यालेञ्ज’ सञ्चालन हुने भएको छ। युवा पुस्ताको बढ्दो डिजिटल आकर्षणलाई लक्षित गर्दै इन्स्टाग्राम रिल्स, टिकटक तथा फेसबुकमार्फत प्रसारण हुने गरी प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
आयोजकका अनुसार १० शृङ्खलामा आधारित रहने उक्त प्रतियोगिताले विशेषगरी कोशी प्रदेशका युवाहरू तथा रैथाने प्रतिभाहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नेछ। प्रतियोगितामार्फत झण्डै १० लाख दर्शकमाझ अर्गानिक पहुँच कायम गर्ने लक्ष्य राखिएको छ।
‘छिटो सोचौँ, छिटो खाऔँ, बलियो बनौँ’ भन्ने मूल नारासहित सञ्चालन हुने प्रतियोगितामा सहभागीहरूले निर्धारित ३० सेकेन्डभित्र विभिन्न चुनौतीपूर्ण कार्य पूरा गर्नुपर्नेछ। प्रतियोगितामा खाद्य चुनौती (फुड च्यालेञ्ज), शारीरिक तन्दुरुस्तीसम्बन्धी कार्य तथा मानसिक चातुर्य परीक्षण गर्ने खेलहरू समावेश गरिने आयोजकले जनाएको छ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने प्रतियोगीलाई नगद पुरस्कार, विभिन्न उपहार सामग्री तथा विशेष सम्मान प्रदान गरिने व्यवस्था गरिएको छ।
कार्यक्रमको मुख्य प्रायोजकमा एक्सट्रिम इनर्जी ड्रिंक रहेको छ भने सह–प्रायोजकका रूपमा उत्सव फुटवेयर र क्लाउड भिसा एन्ड एजुकेसन सर्भिसेज आबद्ध भएका छन्। यसैगरी ग्लोबल आईएमई बैंक कार्यक्रमको आधिकारिक बैंकिङ साझेदार रहेको छ।
प्रतियोगितामा सहभागी हुन इच्छुक डिजिटल कन्टेन्ट क्रिएटर तथा सर्वसाधारणका लागि दर्ता खुला गरिएको छ। इच्छुक व्यक्तिहरूले आयोजकको आधिकारिक सामाजिक सञ्जाल ह्यान्डल @thebigyapan लाई फलो गरी उपलब्ध क्यूआर कोड वा अनलाइन दर्ता लिंकमार्फत आवेदन दिन सक्नेछन्।
आयोजकले प्रतियोगिताले युवाहरूको सिर्जनशीलता, आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमतालाई उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।