विराटनगर । विराटनगरको जुटमिल खेल मैदानमा जारी छैटौँ सस्करणको उपाधी घरेलु टोली टिडब्लूसीवाई फुटबल क्लबले हात पारेको छ ।
जुटमिल खेलमैदानमा आइतबार भएको फाइनलमा कोशी प्रदेश प्रहरी कार्यालयलाई २–० गोल अन्तरले पराजित गर्दै टिडब्लूसीवाई च्याम्पियन बनेको हो । उपाधिसँगै टिडब्लूसीवाईले नगद २ लाख १ हजार १११ रुपैयाँ हात पारेको छ । उपविजेता पुलिसले १ लाख १ हजार १११ रुपैयाँमा चित्र् बुझाएको छ ।
.
विराटनगरको जितमा भुवन बस्नेत र अभिषेक लिम्बूले १–१ गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ४८ औं मिनेटमा भुवनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । उनले दोर्जे तामाङको पासलाई सदुपयोग गरे । खेलको ६६ औं मिनेटमा अभिषेक लिम्बूले शानदार हेडमार्फत गोल गर्दै टोलीको जित सुनिश्चित गरे । उनले दोर्जे तामाङकै कर्नर प्रहारमा गोल गरेका थिए ।

दोस्रो हाफमा एक गोलले पछि परेपछि दबाबमा आएको पुलिसले गोलका केही राम्रा अवसर गुमायो । खेलको ५० औं मिनेटमा पुलिसका नितेश लिम्बूको प्रहार क्रसबारमा लागेर बाहिरिएको थियो । लगत्तै सन्दीप लिम्बूको प्रहारलाई विराटनगरका गोलकिपर पूर्ण चाम्लिङले उत्कृष्ट बचाउ गरे । खेलको ५५ औं मिनेटमा विराटनगरका अमृत मिश्राको कडा प्रहारलाई पुलिसका गोलकिपर सचिन चौधरीले विफल तुल्याएका थिए ।

फाइनलको ‘प्लेयर अफ द म्याच’ पुलिसका सुमित प्रधान घोषित भए । उनले २ हजार १ सय रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको राइजिङ प्यलेयर लालीगुराँस स्पोर्टिङ क्लबका अभिराम घोषित भए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीमा विराटनगरका प्रवेश बस्नेत घोषित भए । उनले ४३ इन्चको टिभी पाएका छन् ।

अन्य विधातर्फ विराटनगरका पूर्ण च्याम्जुङ उत्कृष्ट गोलकिपर, विरु गुरुङ उत्कृष्ट प्रशिक्षक र अमृत मिश्रा सर्वाधिक गोलकर्ता घोषित भए । विजेता टोलीलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, प्रदेश खेलकुद विकास बोर्डका उपाध्यक्ष वसन्त अर्याल, सन्तोषी श्रेष्ठ र मिल्स गोल्डकप फुटबल ट्रस्टका अध्यक्ष विष्णु डंगोल लगायतले पुरस्कार वितरण गरेका थिए । २०७७ सालदेखि निरन्तर आयोजना हुँदै आएको यस प्रतियोगितामा यसपटक ८ टोलीको सहभागिता रहेको ट्रस्टका अध्यक्ष डंगोलले जानकारी दिए ।