काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद दीपक बोहोराले राष्ट्रिय मानव अधिकार आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् ।
सोमबार सर्वोच्च अदालत पुगेका बोहोराले आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा आफ्नो नाम अन्यायपूर्ण रूपमा समावेश गरिएको दाबी गरेका छन् । रिट दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफू गत भदौ २३ र २४ गते अस्पतालमा रहेको र सो अवधिमा आफ्नी श्रीमतीलाई आपत्कालीन कक्षमा उपचारका लागि राखिएको बताए ।
उनले जेनजी आन्दोलनसँग आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै आन्दोलनसँग सम्बन्धित कुनै फोटो वा भिडियोमा आफू नदेखिएको उल्लेख गरे । उनले भने, ‘गत भदौ २३ र २४ गते अस्पतालमा थिए । श्रीमतीलाई आपत्कालीन कक्षमा राखिएको थियो । जेनजी आन्दोलनमा मेरो फोटो, भिडियो कतै पनि छैन । तर राष्ट्रिय मानव अधिकार आयोगले निकालेको २४ गतेको आन्दोलनमा मेरो पनि नाम छ । मानव अधिकार आयोगले अन्याय गरेको छ । प्रमाण हेर्नुपथ्र्यो होला, मेरो संगलग्नता हेर्नुपथ्र्यो होला, मेरो फोटो वा भिडियो हेर्नुपथ्र्यो होला । अस्पतालमा भएको मान्छेको नाम लेख्न मिल्छ ? मानव अधिकार आयोगले नै अन्याय गरेपछि अदालत आएको हुँ । सत्य–तथ्य छानविन होस्, नाम हटाइयोस् भनेर म निवेदन लिएर आएको हुँ ।’
बोहोराका अनुसार मानव अधिकार आयोगले भदौ २४ गतेको आन्दोलनसम्बन्धी प्रतिवेदनमा आफ्नो नाम समावेश गरेको छ । आयोगले पर्याप्त प्रमाण र तथ्यको अध्ययन नगरी आफ्नो नाम उल्लेख गरेको भन्दै उनले आपत्ति जनाए । आयोगबाट अन्याय भएको महसुस भएपछि न्यायको खोजीका लागि अदालत पुगेको बताउँदै बोहोराले प्रतिवेदनमा उल्लेख गरिएको आफ्नो नाम हटाउन तथा घटनाको सत्यतथ्य छानबिन गर्न माग गरिएको जानकारी दिए । उनले अदालतबाट निष्पक्ष छानबिन भई वास्तविक तथ्य सार्वजनिक हुने अपेक्षा व्यक्त गरेका छन् ।