विराटनगर। स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद' भन्ने मूल नाराका साथ विराटनगरमा विद्यार्थीहरूका लागि नि:शुल्क कराते तालिम तथा कपडा वितरण कार्यक्रम सुरु भएको छ।
नेपाल फुलकन्ट्याक्ट कराते मोरङ जिल्ला कमिटीको आयोजनामा विराटनगर-१६ स्थित मिल्स माध्यमिक विद्यालयका करिब ७० जना विद्यार्थीहरूलाई लक्षित गरी यो प्रशिक्षण अभियान सुरु गरिएको हो । कार्यक्रमको पहिलो दिन विद्यार्थीहरूलाई खेलकुदका लागि आवश्यक नि:शुल्क कपडा (पोशाक) समेत वितरण गरिएको थियो ।
नेपाल फुलकन्ट्याक्ट कराते मोरङ जिल्ला कमिटीका अध्यक्ष गोपाललाल सिंहले युवा अवस्थादेखि नै खेलकुदमा रुचि जगाउन र उनीहरूको प्रतिभालाई प्रस्फुटन गराउन यो कार्यक्रम सुरु गरिएको जानकारी दिनुभयो ।
"हाम्रो मुख्य उद्देश्य विद्यालय स्तरबाटै योग्य र क्षमतावान खेलाडीहरू उत्पादन गर्नु हो । यस तालिमका क्रममा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पहिचान गरी आगामी दिनमा राष्ट्रिय स्तरका खेलहरूमा सहभागी गराइनेछ," अध्यक्ष सिंहले भन्नुभयो ।
अहिलेको समयमा युवाहरूलाई कुलतबाट टाढा राख्न, शारीरिक तथा मानसिक रूपमा स्वस्थ बनाउन र राष्ट्रको नाम रोशन गर्ने खेलाडी तयार पार्न यस्ता तालिमहरू निकै प्रभावकारी हुने विश्वास आयोजकले लिएको छ । तालिममा उत्साहजनक रूपमा विद्यार्थीहरूको सहभागिता रहेको छ ।