विराटनगर । नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल, विराटनगरको प्राविधिक सहयोग तथा बुढीगंगा गाउँपालिका–४ हातिमुडा, प्रगतिटोलस्थित उत्पातिका भजन कीर्तन सेवा मोरङको आयोजनामा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।






पोठिया आधारभूत स्वास्थ्य सेवा केन्द्र, बुढीगंगा–४ को प्राङ्गणमा आयोजित शिविरमा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। शिविरबाट कुल २७५ जना सेवाग्राहीले स्वास्थ्य परीक्षण तथा विशेषज्ञ चिकित्सकीय परामर्श सेवा प्राप्त गरेका छन्।
शिविरमा स्त्री तथा प्रसूति रोग सम्बन्धी परामर्श, ग्यास्ट्रोएन्टेरोलोजी सेवा, रेडियोलोजी सेवा तथा रगतसहित अन्य आवश्यक प्रयोगशाला परीक्षण सेवा प्रदान गरिएको थियो। साथै महिलाहरूका लागि पाठेघरको मुखको क्यान्सर परीक्षण (सर्भिकल क्यान्सर स्क्रिनिङ) र स्तन क्यान्सर परीक्षण (ब्रेस्ट क्यान्सर स्क्रिनिङ) समेत गरिएको आयोजकले जनाएको छ।
स्वास्थ्य शिविरमार्फत समुदायस्तरमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने तथा रोगको समयमै पहिचान र उपचारमा सहयोग पुर्याउने उद्देश्य रहेको बताइएको छ। आयोजक संस्थाले स्वस्थ समाज निर्माणका लागि समुदायसँग सहकार्य गर्दै गुणस्तरीय स्वास्थ्य सेवा सबैको पहुँचमा पुर्याउने प्रतिबद्धता निरन्तर रहने जनाएको छ।