विराटनगर। नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा चलिरहेको १०औं राष्ट्रिय महिला खुल्ला बास्केटबल प्रतियोगिताको फाइनल खेल बुढानिलकण्ठ नगरपालिका र ग्राण्डी स्टार्सबीच हुने निश्चित भएको छ । बुधबार सेमिफाइनल खेलमा दुवै टोलीले आ-आफ्ना प्रतिद्वन्द्वीलाई पराजित गर्दै उपाधि भिडन्तमा प्रवेश गरेका हुन् ।
कीर्तिपुर कभर्डहलमा आयोजित पहिलो सेमिफाइनलमा ग्राण्डी स्टार्सले आइएसए नेपाललाई ६६-३२ को ठूलो अन्तरले पराजित गर्यो । सुरुदेखि नै खेलमाथि पकड राखेको ग्राण्डीले चारै क्वाटरमा क्रमशः १५-७, २८-१०, १२-८ र ११-७ को स्कोरसहित जित सुनिश्चित गर्यो । टोलीका लागि स्मृति पाइजु सबैभन्दा प्रभावकारी खेलाडी साबित भइन्, उनले १४ अंक स्कोर गर्दै 'प्लेअर अफ दि म्याच' को पुरस्कार हासिल गरिन् । दोस्रो सेमिफाइनलमा बुढानिलकण्ठ नगरपालिकाले सुनसरी बास्केटबल एसोसिएसनलाई ७२-३९ को सहज अन्तरले हरायो । बुढानिलकण्ठले १९-११, २१-४, १३-१६ र १९-८ को क्वाटरवार प्रदर्शन गर्दै जित निकाल्यो । टोलीको तर्फबाट उर्जा राना मगरले उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक २१ अंक हासिल गरिन् र उनलाई 'प्लेअर अफ दि म्याच' घोषित गरियो ।
पुरस्कारको सन्दर्भमा, प्रतियोगिताको विजेता टोलीले ५० हजार र उपविजेताले ३० हजार रुपैयाँ नगद पाउनेछन् । थप पुरस्कारस्वरूप सर्वोत्कृष्ट खेलाडी (एमभीपी) लाई १० हजार, उदीयमान टोलीलाई १० हजार र उपत्यकाबाहिरबाट सहभागी उदीयमान खेलाडीलाई ५ हजार रुपैयाँ प्रदान गरिने नेबाले जनाएको छ ।