विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस र नबिल बैंक लिमिटेड को सहकार्यमा सञ्चालित नबिल सामाजिक उद्यमशीलता विद्यालय (एनएसएसई)" को तीन महिने नवौं ब्याचको तालिम आइतबार प्रमाणपत्र वितरणसहित सम्पन्न भएको छ।
कार्यक्रमको सभापतित्व व्यवस्थापन संकायका सहायक क्याम्पस प्रमुख रवि रोकाले गरेका थिए। तीन महिनासम्म सञ्चालन गरिएको तालिममा सहभागी युवाहरूलाई सामाजिक उद्यमशीलता, व्यवसाय विकास, नेतृत्व क्षमता अभिवृद्धि तथा नवप्रवर्तनका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो।
समापन कार्यक्रममा उद्योग संगठन मोरङका महानिर्देशक चूडामणि भट्टराई, मुख्यमन्त्री कार्यालयका आर्थिक सल्लाहकार डा. मोहनकुमार सुबेदी, नबिल बैंकका प्रदेश प्रमुख सन्तोषप्रसाद पाण्डे, कर्जा शाखा प्रमुख किशोर कार्की, आन्तरिक राजस्व कार्यालयका पूर्व सूचना अधिकृत हरिप्रसाद सेडाईं, मेन्टर डा. चन्द्र उपाध्याय तिम्सिना, बिजनेस कोच विनयविष्णु केसी, मल्ल इन्टरप्राइजेजका प्रबन्ध निर्देशक अभिनायक मल्ल, घरेलु तथा साना उद्योग महासंघ महिला उद्यम समितिकी अध्यक्ष अम्बिता भण्डारी, निवर्तमान अध्यक्ष सुनिता छाराहाङ तथा चिनारी मिडियाकी सञ्चालक सीता थापा लगायतको उपस्थिति रहेको थियो।
उक्त अवसरमा वक्ताहरूले सामाजिक उद्यमशीलताले आर्थिक समृद्धिसँगै समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए। उनीहरूले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्दै स्वरोजगार तथा उद्यम विकासमा लाग्न सहभागीहरूलाई आग्रह गरेका थिए। कार्यक्रममा नवौं ब्याचका सहभागीहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो। आयोजकका अनुसार NSSE कार्यक्रमले युवाहरूमा उद्यमशील सोच विकास गर्दै सामाजिक समस्याको समाधान खोज्न प्रेरित गर्ने उद्देश्य राखेको छ।