विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–६ स्थित श्री पब्लिक उच्च माध्यमिक विद्यालयमा नोबेल मेडिकल कलेज टिचिङ अस्पतालअन्तर्गतको नोबेल क्यान्सर अस्पतालले क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ। कक्षा ८, ९ र १० का विद्यार्थीहरूलाई लक्षित गरी आयोजना गरिएको कार्यक्रममा स्वास्थ्य सम्बन्धी महत्वपूर्ण जानकारी प्रदान गरिएको थियो।
कार्यक्रममा मेडिकल अन्कोलोजिस्ट डा. सुमित सिंहले क्यान्सरका कारण, प्रारम्भिक लक्षण, जोखिम कारक तथा रोकथामका उपायबारे जानकारी दिनुभयो। उहाँले सुर्तीजन्य पदार्थको सेवन र अस्वस्थ जीवनशैलीबाट टाढा रहन आग्रह गर्दै स्वस्थ बानी अपनाउन प्रेरित गर्नुभयो।

डा. सिंहले क्यान्सरबारे समाजमा रहेका भ्रम हटाउन सही जानकारी आवश्यक रहेको बताउँदै प्रारम्भिक चरणमै रोग पहिचान भए उपचारको सफलता दर उच्च हुने जानकारी दिनुभयो। साथै, नोबेल क्यान्सर अस्पतालमा आधुनिक सर्जिकल, मेडिकल तथा रेडिएसन अन्कोलोजी सेवा एकै स्थानमा उपलब्ध रहेको उल्लेख गर्नुभयो।


अस्पतालमा जडान गरिएको अत्याधुनिक "भेरियन एज रेडिएसन थेरापी मेसिन" मार्फत विश्वस्तरीय उपचार सेवा नेपालमै उपलब्ध भइरहेको र यसले विदेश जानुपर्ने बाध्यता कम गर्दै गएको उहाँको भनाइ थियो।
कार्यक्रममा विद्यार्थीहरूले राखेका जिज्ञासाको वैज्ञानिक रूपमा उत्तर दिइएको थियो। विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा यस्ता गतिविधिले स्वास्थ्य सचेतना अभिवृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।