विराटनगर । मनसुन भित्रिएसँगै परेको अविरल वर्षाका कारण मोरङको बुढीगंगा गाउँपालिका–१ टंकीसिनवारी चौकदेखि पूर्वतर्फको सडक क्षेत्र जलमग्न बनेको छ। पानी निकासको उचित व्यवस्था नहुँदा वर्षापछि सडकमा पानी जम्ने समस्या दोहोरिँदै आएको स्थानीयवासीले बताएका छन्।
सडकमा पानी जम्दा विद्यार्थी, सर्वसाधारण तथा सवारी साधन सञ्चालनमा समेत कठिनाइ हुने गरेको छ। स्थानीयका अनुसार टंकीसिनवारीदेखि करिब दुई किलोमिटर पूर्व रहेको खदरा (खोल्सा) सम्म पानी निकास गर्ने उद्देश्यले आरसीसी ड्रेनसहितको सडक निर्माण कार्य सुरु गरिएको भए पनि दुई वर्षभन्दा बढी समय बितिसक्दा समेत योजना सम्पन्न हुन सकेको छैन।



स्थानीय सरकार बुढीगंगा गाउँपालिकाले डुबान नियन्त्रणका लागि बस्तीको पानी खदरामार्फत सिंघिया खोलामा मिसाउने योजना अघि सारेको थियो। सोही योजनाअन्तर्गत संघीय सरकार मातहतको सडक डिभिजन कार्यालयले स्रोत सुनिश्चित गरी ठेक्का प्रक्रिया अघि बढाएको थियो।
स्थानीयका अनुसार कोशी राजमार्ग चार लेनमा विस्तार गर्दा सडकको सतह बस्तीभन्दा अग्लो बनाइएकाले पानीको प्राकृतिक बहाव अवरुद्ध भएको छ। उत्तर–दक्षिण राजमार्गको नालामा पूर्व–पश्चिम सडकका नालाबाट पानी निकास हुन नसक्दा वर्षायाममा यस क्षेत्र निरन्तर डुबानमा पर्ने गरेको छ।
बुढीगंगा क्षेत्रमा रहेको औद्योगिक क्षेत्रबाट आउने पानीसमेत थपिएर वर्षाको समयमा विराटनगर महानगरपालिकाका उत्तरी क्षेत्रका विभिन्न वडाहरू समेत प्रभावित हुने गरेका छन्। निर्माणाधीन ड्रेनसहितको सडक योजनाले बस्तीको पानी सुरक्षित रूपमा खोलामा पुर्याउने लक्ष्य राखे पनि समयमै काम सम्पन्न नहुँदा स्थानीयले सास्ती खेप्नुपरेको छ।
यता वर्षापछि पानी निकास नहुँदा बस्तीभित्रै पानी पस्न थालेपछि स्थानीयले जनप्रतिनिधि तथा सम्बन्धित निकायलाई पटक–पटक जानकारी गराए पनि आवश्यक चासो नदिएको गुनासो गरेका छन्। उनीहरूले निर्माणाधीन योजना छिटो सम्पन्न गरी दीर्घकालीन डुबान समस्याको समाधान गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।