सोनु साह
विराटनगर । विराटनगर महानगरपालिका–१४ भगवती चोककी शान्ति देवी महतोको मृत्यु प्रकरणमा न्यायको माग गर्दै पीडित परिवार र स्थानीयले जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि अनिश्चितकालीन धर्ना तथा प्रदर्शन कार्यक्रम सुरु गरेका छन्। मृतकका देवर लेटन महतोका अनुसार महाजन क्षीनारायण गुप्तासँग १ लाख ५० हजार लिएको ऋण बुझाउँदा समेत लिखत फिर्ता नदिएर उल्टै मुद्दा हालेर जग्गा हडप्पिएको थियो । उक्त ऋणका लागि जग्गा धितो पास गरिएको थियो। परिवारका अनुसार मूलधन र ब्याज गरी करिब ४ लाख ८० हजार रुपैयाँ फिर्ता गरिसक्दा पनि महाजनले जग्गा फिर्ता गर्न आनाकानी गर्दै आएका थिए।


पीडित पक्षले पटक–पटक आग्रह गर्दा पनि समस्या समाधान नभएको र धितोको म्याद नाघेपछि महाजन गुप्ताले जग्गा आफ्नो नाममा कायम गराउने उद्देश्यले अदालतमा मुद्दा दायर गरेको आरोप लगाएका छन्। सो मुद्दामा जिल्ला अदालतले गुप्ताकै पक्षमा फैसला गरेको बताइएको छ। परिवारका अनुसार फैसला पश्चात् गुप्ताले शान्ति देवीलाई घर खाली गर्न दबाब दिने, धम्की दिने तथा मानसिक यातना दिने कार्य गर्दै आएका थिए। निरन्तरको दबाब र तनावका कारण शान्ति देवी आत्महत्या गर्न बाध्य भएको परिवारको दाबी छ। उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी मिटरब्याजीको आरोप लागेका गुप्तालाई नियन्त्रणमा लिएर कानुनी कारबाही गर्न माग गरेका छन्। यता प्रहरीले गुप्ता विरुद्ध आत्माहत्या दुरुत्साहन कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरेको छ ।
विराटनगर महानगरपालिका–१४ का वडाध्यक्ष सूर्यनारायण महतोले उक्त विवाद महानगरपालिकाको न्यायिक समितिमा पुगेको भए पनि मुद्दा टुंगो लाग्न नसकेको बताए। उनका अनुसार मृतकका सात जना छोरी रहेका छन् र परिवार मजदुरी गरेर जीविकोपार्जन गर्दै आएको थियो। वडाध्यक्ष महतोले ऋण फिर्ता भइसकेको दाबीका बाबजुद पीडितमाथि भएको व्यवहार गम्भीर र मानवताविरोधी देखिएको भन्दै सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्ने बताए। उनले उच्च अदालत विराटनगरको पुनरावेदन फैसलासमेत साहुकै पक्षमा भएको जानकारी दिए।
प्रदर्शनकारीहरूका अनुसार जिल्ला प्रशासन कार्यालयसँग प्रारम्भिक मौखिक छलफल भएको छ। प्रशासनले थप छलफलका लागि भोलि पुनः बोलाएको र घटनाको छानबिन गर्ने प्रतिबद्धता जनाएको उनीहरूको भनाइ छ। पीडित पक्षले घटनाको निष्पक्ष अनुसन्धान, विवादित जग्गा फिर्ता, मृतकका बालबालिकाको शिक्षा व्यवस्थापन तथा परिवारलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन्। साथै उनीहरूले न्याय नपाएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन्।