सोनु साह
सुनसरी । हरिनगर गाउँपालिका–४ स्थित भुटाहा–बसन्तपुर सडक खण्ड वर्षौंदेखि अलपत्र रहेको विषयलाई लिएर स्थानीयवासी र गाउँपालिका पक्षबीच विवाद चर्किएको छ। सडक निर्माणमा भइरहेको ढिलाइका कारण दैनिक आवतजावतमा समस्या भोग्दै आएका स्थानीयवासीले गत शुक्रबारदेखि सडकमा विरोध प्रदर्शन गर्दै आएका थिए।
स्थानीयका अनुसार सडकको समस्याबारे पटक–पटक गाउँपालिकालाई जानकारी गराउँदा पनि कुनै सुनुवाइ नभएपछि आन्दोलन गर्न बाध्य भएको बताएका छन्। यसैबीच, गाउँपालिकाले सोमबार सडक सम्बन्धी विषयमा छलफलका लागि स्थानीयलाई बोलाएको थियो। तर स्थानीयको दाबीअनुसार गाउँपालिकामा बोलाइए पनि कुनै छलफल नभएपछि उनीहरू पुनः विरोध प्रदर्शनका लागि सडकमा उत्रिएका थिए।


प्रदर्शनका क्रममा गाउँपालिका अध्यक्ष गफार अन्सारी मियाँसहित उनका पक्षका कार्यकर्ताहरू घटनास्थलमा पुगेको र प्रदर्शनरत स्थानीयलाई हटाउन खोज्दा विवाद उत्पन्न भएको स्थानीयको आरोप छ। स्थानीयवासीले अध्यक्ष पक्षका कार्यकर्ताले जबर्जस्ती सडक खुलाउन खोज्नुका साथै प्रदर्शनकारीमाथि हातपात गरेको दाबी गरेका छन्। घटनापछि दुवै पक्षबीच तनावपूर्ण अवस्था सिर्जना भएको थियो। स्थिति थप बिग्रिन नदिन प्रहरी घटनास्थलमा पुगेर अवस्था नियन्त्रणमा लिएको बताइएको छ।
स्थानीयवासीहरूले सडक निर्माण कार्य तत्काल अघि बढाउन र वर्षौंदेखिको समस्या समाधान गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। उनीहरूले विकास निर्माणका काममा भइरहेको ढिलासुस्तीका कारण सर्वसाधारणले सास्ती भोग्नुपरेको बताएका छन्। यता, घटनाबारे गाउँपालिका अध्यक्ष तथा गाउँपालिका प्रशासनको आधिकारिक प्रतिक्रिया भने सार्वजनिक हुन बाँकी रहेको छ।