विराटनगर । डाक्टरले चलाएको ईभी कारले मोटरसाइकललाई ठक्कर दिँदा सुनसरीमा नेपाल प्रहरीका वरिष्ठ सई (प्रहरी वरिष्ठ नायब निरीक्षकको मृत्यु भएको छ भएको छ भने उनकी श्रीमती घाइते भएकी छन् ।
हुलाकी राजमार्गअन्तर्गत बर्जु गाउँपालिका–६ नरह चोकनजिक मंगलबार अपरान्ह १२ बजेतिर दुर्घटना भएको सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए । उनका अनुसार विराटनगरबाट बर्जु गाउँपालिकाको चिमडीतर्फ जादै गरेको प्र १–०२–००२ च ६२५२ नम्बरको ईभी कारले विपरीत दिशातर्फ जाँदै गरेको प्र १–०१–००३ प २६१२ नम्क्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
दुर्घटनामा परेर मोटरसाइकलमा सवार प्रहरीका वरिष्ठ सई सप्तरीको विष्णुपुर गाउँपालिका–१ घर भएका अन्दाजी ५० वर्षीय लालकुमार यादवको मृत्यु भएको छ । दुर्घटनामा परी टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका यादवलाई उपचारका लागि विराटनगरको विराट नर्सिङ होममा भर्ना गरिएको थियो । उपचारकै क्रममा दिउँसो ४ः१६ बजेतिर मृत्यु भएको डीएसपी सुनसरी प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर मोटरसाइकलको पछाडि सवार लालकुमारकी पत्नी ४७ वर्षीया रामपरी यादव घाइते भएकी छन् । रामपरीको दाहिने खुट्टामा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । उनको विराट नर्सिङ होममा उपचार भइरहेको छ ।
दुर्घटनालगत्तै प्रहरीले कार चालक अन्दाजी ५० वर्षीय डा.राजेन्द्र चौधरीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ । मोरङको कटहरी गाउँपालिका–३ घर भएका उनी रेडियोलोजिस्ट हुन् । चिमडी बजारमा एक्स–रे गर्नका लागि जाँदै गर्दा उनले चलाएको कारले मोटरसाईकललाई ठक्कर दिएको बुझिएको छ ।