विराटनगर । कक्षा १२ को नतिजा शुक्रबार सार्वजनिक भएसँगै विधार्थीहरु अब नयाँ यात्रा तय गर्ने संघारमा आइपुगेका छन् । वर्षौ लगाएर गरेको मेहेनतको परिणाम कतिले आसा गरेअनुसारको आउदा हर्षित र प्रोत्साहित भएका छन् त कतिपय बिद्यार्थीहरुले अपेक्षा गरेभन्दा कम अंक आएकोमा दुःखी देखिन्छन । तर यो उत्साह र अन्योलता बीच विद्यार्थीहरुले आफ्नो पढाइको एउटा खुडकिलो पार गरेका छन् ।
भर्खरै कक्षा १२ उतिर्ण गरेकी विद्यार्थी विजिता योगी भन्छिन “वकिल बन्ने सपना छ, आफुले सोचे जतिको अंक नआएपनि अबको यात्रा अझै कडा मेहेनत गरेर कानुन अध्ययनलाई निरन्तरता दिने छु ।” त्यस्तै अर्की छात्रा मोनिका आचार्यले आफ्नो अनुभव सुनाउदै नतिजा आउने बेला चिन्तामा भएको तर नतिजा राम्रो आएको र प्राप्त नतिजालाई प्रेरणाको रुपमा लिने बताइन । नेपालमा बाह्रकक्षा सकिने बितिकै विभिन्न बहानामा बिद्यार्थीहरु विदेश पलायन हुने प्रवृत्ति बढ्दै गरेको अवस्थामा युवाहरुले आफ्नै देशमा भविष्य देख्न सक्नु भनेको राम्रो संकेत हो ।
परीक्षाको नतिजा नै विद्यार्थीको क्षमता र सिर्जनशिलतालाइ मापन गर्ने अन्तिम मापदण्ड होइन । मानव जीवनमा धेरै उतारचढाव, परीक्षा र चुनौतीहरु आउछन् तर धैर्यता, साहास र विवेकका साथ अगाडी बढ्न सक्नु नै मानव हुनुको सुन्दर पक्ष रहेको विद्यार्थीहरुको बुझाई छ ।
नेवा चेम्जोङ्ग