विराटनगर । भण्डै २५ करोड बढीको लगानीमा धरान ८ स्थित अत्याधुनिक ‘स्मार्ट बसपार्क’ आजदेखि सञ्चालनमा आएको छ । बसपार्कको धरान उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुख अइन्द्रविक्रम बेघाले बसपार्कको उदघाटन गरे ।

सङ्घीय सरकार र धरान उपमहानगरपालिकाको ५० ÷ ५० प्रतिशत आन्तरिक स्रोतबाट करिब एक बिघा सात कट्ठा क्षेत्रफलमा बसपार्क निर्माण गरिएको छ ।
कूल ३३ करोड ७० लाख ४७ हजार ३३७ लागत अनुमान गरिएको उक्त आयोजना निर्माणको जिम्मा बिकोइ गीताञ्जली जेभी, दुहबी सुनसरीले पाएको थियो ।
निर्माण कम्पनीले २५ करोड ४१ लाख ६७ हजार ३१९ मा २०७८ असार ३० गते ठेक्का सम्झौता गरी निर्माण कार्य सुरु गरेको थियो ।
बसपार्क २४ करोड ८६ लाख नौ हजार १४८ मा निर्माण सम्पन्न भएको धरान उपमहानगरपालिकाका योजना शाखाका इञ्जिनियर प्रकाश शर्माले जानकारी दिए । यहाँ एकैपटक ३८ वटा ठूला बस र १८ वटा जिप पार्किङ गर्न सकिने व्यवस्था छ ।

भवनको बेसमेन्टमा ७२ वटा दुईपाङ्गे् सवारीसाधन, ६० वटा अटो तथा केही कार र जिप पार्किङ गर्न सकिने क्षमता रहेको उनले जानकारी दिए ।
बसपार्कमा करिब ३०० यात्रु अट्ने सुविधा सम्पन्न प्रतीक्षालय, टिकट काउन्टर, एटिएम बुथ, सिसिटीभी तथा सुरक्षा कक्ष, सार्वजनिक शौचालय, प्राथमिक उपचार कक्ष, मिनीमार्ट तथा यात्रु चढाउन र ओराल्नका लागि २२ वटा अटो अट्ने स्टेसन निर्माण गरिएको छ । अन्डरग्राउन्ड पार्किङसहित बसपार्क भवनको पहिलो तलामा १८ वटा व्यावसायिक सटरसमेत निर्माण गरिएको उनले बताए ।
