विराटनगर। धनकुटाको साँगुरीगढी गाउँपालिका-६ कोलबोटेस्थित कोशी लोकमार्गबाट प्रहरीले ठूलो परिमाणमा अवैध लागुऔषध गाँजासहित एक जना मिनी ट्रक चालकलाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको विशेष प्रहरी टोलीले जाँच गर्ने क्रममा धनकुटाबाट धरानतर्फ जाँदै गरेको को १ ख ४६३५ नम्बरको मिनी ट्रकबाट ७ सय ७५ केजी गाँजा बरामद गरेको हो।
आलुको बोराले छोपेर तस्करीको प्रयास
प्रहरीका अनुसार मिनी ट्रकको ढालाभित्र कालो प्लास्टिकमा प्याक गरी आलुको बोराले छोपेर लुकाएको अवस्थामा उक्त गाँजा फेला परेको थियो। शंका लागेर ट्रकलाई रोकी खानतलासी गर्दा उक्त अवैध लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ।
चालक नियन्त्रणमा
गाँजा ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा धनकुटा पाख्रीबास नगरपालिका वडा नम्बर-१ स्थायी घर भई हाल सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर-१ आँपगाछी बस्ने ३३ वर्षीय परीक्षण कुँवर रहेका छन्। प्रहरीले चालक र मिनी ट्रकलाई नियन्त्रणमा लिएर लागुऔषध नियन्त्रण ऐन अन्तर्गत थप अनुसन्धान अघि बढाएको छ।