नेपालमा मनसुनी गतिविधि क्रमशः बढ्दै जाँदा आज र भोलि देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी (मुसलधारे) वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागले दुई दिनअगाडि नै विशेष बुलेटिन जारी गर्दै आवश्यक सावधानी अपनाउन सचेत गराएको हो ।
आज बिहानैदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
मौसमविद् विनोद पोखरेलका अनुसार गएराति पनि नेपालका धेरै ठाउँमा राम्रो वर्षा भएको छ, यद्यपि काठमाडौं र मधेशका केही सीमित ठाउँमा मात्र पानी परेको थियो । मौसमविद् पोखरेलले आज दिउँसो नेपालभरि नै वर्षाको राम्रो सम्भावना रहेको र विशेष गरी पश्चिम नेपालमा भारी वर्षा हुन सक्ने जानकारी दिएका छन्।
विभागका अनुसार बंगालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणालीका कारण नेपालमा जलवाष्पयुक्त हावाको प्रवाह क्रमशः बढ्दै गएकाले यो भारी वर्षाको स्थिति सिर्जना भएको हो।
कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ। विभागका अनुसार यी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षा समेत हुन सक्छ । महाशाखाका अनुसार देशका थोरै ठाउँमा अत्यन्तै तीव्र गतिमा हुने 'आरीघोप्टे' वर्षाको समेत सम्भावना छ।
देशका पहाडी र तराई भूभागका धेरै स्थानमा तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा हुनेछ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूर्वी तथा पश्चिम तराई क्षेत्रमा अलि बढी सावधानी अपनाउन विशेष अनुरोध गरेको छ। भारी वर्षाका कारण अबका केही दिन अकस्मात् बाढी, पहिरो, भूक्षय, कटान, गेग्रान बहावका साथै सहरी तथा तराई क्षेत्रहरूमा डुबानको उच्च जोखिम रहनेछ। साना तथा ठुला नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन भनिएको छ।
यसपालि नेपालमा मनसुन औसत मितिभन्दा ६ दिन ढिलो गरी जुन १९ तारिख (अर्थात् असार ५ गते) भित्रिएको हो। ढिलो भित्रिएका कारण मनसुनले अहिलेसम्म देशभरि पर्याप्त वर्षा गराउन सकेको थिएन र यो अझै पुरै देशमा फैलिसकेको छैन।