विराटनगर । नयाँ लायन्स वर्षको शुभारम्भको अवसरमा विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियलिटी हस्पिटलमा वृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ। लायन्स क्लब अफ विराटनगर सेन्ट्रलको आयोजना तथा न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियलिटी हस्पिटलको सहकार्यमा आयोजित कार्यक्रममा ५० जनाभन्दा बढी रक्तदाताले रक्तदान गरेका हुन्।



सामाजिक सेवामार्फत नयाँ लायन्स वर्षको सुरुवात गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरूको उत्साहजनक सहभागिता रहेको थियो। अस्पताल परिसरमा सञ्चालन गरिएको रक्तदान कार्यक्रममा स्वेच्छिक रूपमा सहभागी भएका रक्तदाताले रक्तदान गर्दै मानवीय सेवामा योगदान पुर्याएका थिए।
कार्यक्रममा न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियलिटी हस्पिटलका सञ्चालन निर्देशक राजेश भट्टराई, लायन्स क्लब अफ विराटनगर सेन्ट्रलका अध्यक्ष डा.मञ्जिल श्रेष्ठ, क्लबका पदाधिकारी तथा सदस्यहरू, अस्पतालका स्वास्थ्यकर्मी, समाजसेवी तथा स्थानीयवासीको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै लायन्स क्लब अफ विराटनगर सेन्ट्रलका अध्यक्ष डा. मञ्जिल श्रेष्ठले रक्तदान जीवन बचाउने सबैभन्दा ठूलो मानवीय सेवा भएको उल्लेख गर्दै नयाँ लायन्स वर्षको सुरुवात यस्ता सामाजिक कार्यबाट गर्न पाउँदा गर्व महसुस भएको बताउनुभयो। उहाँले संकलित रगतले उपचाररत तथा रगत अभावमा रहेका बिरामीहरूको ज्यान बचाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।




कार्यक्रमको समापनमा अध्यक्ष श्रेष्ठले रक्तदान गरी सामाजिक उत्तरदायित्व निर्वाह गर्ने सम्पूर्ण रक्तदाताप्रति आभार व्यक्त गर्नुभयो। साथै, रक्तदान गर्ने सबैलाई उनीहरूको योगदानको सम्मानस्वरूप अस्पताल र लायन्स क्लबका तर्फबाट प्रशंसापत्र प्रदान गरिएको थियो।
विराटनगरमा पछिल्लो समय बढ्दो रगतको मागलाई मध्यनजर गर्दै आयोजना गरिएको उक्त कार्यक्रमले स्वेच्छिक रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै स्थानीय समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ।