विराटनगर । शुक्रबार अपरान्ह कोशी प्रदेशको छड्के निरीक्षणमा आएको भन्ने हल्ला चलेपछि बेलुका ९ बजेसम्म विराटनगरमा गृहमन्त्रीको खोजी भयो । सुरक्षा संयन्त्रले समेत चारैतिर उपस्थिति बढायो । गृहमन्त्री आएको खबरपछि सञ्चारकर्मी चारतिर फोन गर्न थाले । तर, स्थानीय प्रशासन र प्रहरी प्रशासन समेत आश्चर्यमा पर्दै हो की हो की मा पुग्यो ।
कतिपय सञ्चारमाध्यमले स्थानीय प्रशासनलाई कोड गर्दै समाचार लेखे । गृहमन्त्री आकस्मिक कोशीको छड्केमा आएको भन्ने खबर जताततै छायो । प्रहरीले सीमा क्षेत्रमा गएको आशंका गरेर सुरक्षा उपस्थिति बढायो । कतिपयले अहिले मोरङ कारागारका कैदीबन्दीको भत्ता सुविधा बाहिरका गुण्डानाइकेले खोसेको चर्चाका बीच गृहमन्त्री त्यहाँ गएको बुझेका थिए ।
तर, गृहमन्त्री सुधन गुरुङ शनिबार ११ बजे विराटनगर विमानस्थलमा अवतरण गरे । दिनभर व्यस्त बने । सामान्यशैलीमा विमानस्थल ओर्लेदेखि उनी दिनभर चर्को घाममा दौडिरहे । विराटनगरको गर्मीको पर्वाह गरेनन् । जिल्ला प्रशासन कार्यालय मोरङदेखि सुरु गरेको निरीक्षण तथा अनुगमन कोशी प्रदेश प्रहरी कार्यालय रानी, रानी नाका, आईसिपी, विराट राजाको दरबार क्षेत्र, जिल्ला प्रहरी कार्यालयसम्म पुगे । धेरैले आसा गरेको मोरङ कारागारसम्म भने पुगेनन् । त्यहाँका कैदीबन्दीले समेत गृहमन्त्री आउनसक्ने आसा राखेपनि, त्यो भएन ।
अपरान्हसम्म विराटनगरमा दौडधुप गरेका गृहमन्त्री त्यसपछि सुनसरी प्रस्थान गरिसकेका छन् । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोजराज कोइरालाका अनुसार गृहमन्त्री सुनसरी लागेका हुन् । उनी इटहरीको स्यार्सेकाली नजिक रहेको मिठो भातको स्वाद सम्झँदै गएको बुझिएको छ । मोरङबाट हिँडेको केहिबेरमै स्यार्सेकाली नजिकको उक्त होटलमा पुगेको भिडियो समेत आइसकेको छ ।