विराटनगर । गृहमन्त्री सुधन गुरुङले खुल्ला सीमानाकाबाट भइरहेको अवैध कारोबारलाई नियन्त्रण गरिने बताएका छन् । उनले यो कार्य रोक्न तीन तहका सरकारले मिलेर काम गर्नुपर्ने बताउँदै आगामी साउनदेखि गृहमन्त्रालयले केहि सुधार योजना ल्याउने बताएका हुन् । शनिबार बिहान ११ बजे विराटनगर विमानस्थलमा ओलिएका गृहमन्त्रीले दिनभर विभागिय मन्त्रालय अन्तर्गतका कार्यालय तथा कार्यक्षेत्रको अनुगमन गरेर फर्किएका छन् । दिनभर तातो घाममा गृहमन्त्री दौडिएका थिए । त्यस क्रममा गृहमन्त्री गुरुङले जिल्ला प्रशासन कार्यालय मोरङ, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, सीमा नाका रानी र एकीकृत जाँच चौकी (आईसिपी), जिल्ला प्रहरी कार्यालय मोरङ, आईसिपी नजिकै रहेको बिराट राजाको दरबार समेतको अनुगमन गरेका हुन् ।

गृहमन्त्री गुरुङले खुल्ला सीमा क्षेत्रबाट हुने अवैध कारोबार रोक्न सुरक्षा संयन्त्रलाई बलियो बनाउन आवश्यक रहेको बताएका छन् । स्थानीय, प्रदेश र संघीय सरकार मिलेर सीमा क्षेत्रमा खटाइने सुरक्षा संयन्त्रको व्यवस्थित आवासको प्रवन्ध मिलाउन जरुरी रहेको उनको बुझाई छ । खुल्ला सीमानाकाबाट हुने अवैध कारोबार रोक्न संरचनागत सुधारको आवश्यक रहेको र त्यस अनुसारको योजना ल्याउने उनले बताए । सरकारले तस्करी होस् की गुण्डागर्दी, अन्त्य चाहेको बताउँदै गृहमन्त्री गुरुङले सुशासनका हरेक पक्षमा सकारात्मक छाप परेको हुनुपर्नेमा जोड दिएका छन् ।