पत्रकारको परिचयपत्र बोकेर लागुऔषध सेवन गर्ने दुई युवक विराटनगरमा पक्राउ

<span class='c1'>पत्रकारको परिचयपत्र बोकेर लागुऔषध सेवन</span> <span class='c2'>गर्ने दुई युवक विराटनगरमा पक्राउ</span>

विराटनगर । पत्रकार भएको परिचय दिँदै लागुऔषध सेवन गरी प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा दुई युवक विराटनगरबाट पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले आइतबार दिउँसो विराटनगर महानगरपालिका–१६ स्थित दरैया चोकबाट विराटनगर–१ निवासी ३६ वर्षीय पेशल घिमिरे र विराटनगर–४ निवासी राहुल सरदारलाई नियन्त्रणमा लिएको हो। मोरङ प्रहरीका अनुसार उनीहरू भारतको जोगबनीबाट लागुऔषध सेवन गरेर नेपाल प्रवेश गर्दै थिए। चेकजाँचका क्रममा ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गरेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीले घिमिरेको साथबाट शब्द एक्सप्रेस अनलाइनको पत्रकार परिचयपत्र (प्रेस कार्ड) फेला पारेको जनाएको छ। साथै उनीहरूले प्रयोग गरेको प्रदेश १–०२–०४१ प २०९० नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिइएको छ।

अनुसन्धानका क्रममा उक्त परिचयपत्र शब्दाक्षर मिडिया प्रालिद्वारा सञ्चालित शब्द एक्सप्रेस अनलाइनको रिपोर्टरका नाममा जारी भएको खुलेको छ।
विराटनगरको अस्पताल चोकस्थित कार्यालय रहेको मिडिया सञ्चालक माधव काफ्लेका अनुसार घिमिरे विगतमा संस्थालाई सूचना उपलब्ध गराउने काम गर्थे, तर लामो समयदेखि संस्थासँग आबद्ध छैनन्। घटनाबारे प्रतिक्रिया दिँदै काफ्लेले भने, “उहाँले पहिले काम गर्नुहुन्थ्यो। अहिले लामो समयदेखि हाम्रो संस्थामा हुनुहुन्न। परिचयपत्र समयमै फिर्ता लिनुपर्ने थियो, त्यो हाम्रो कमजोरी रह्यो। यस घटनाबाट हामीले पाठ सिकेका छौँ। आगामी दिनमा प्रेस कार्ड वितरण तथा फिर्ता प्रक्रियालाई थप व्यवस्थित बनाउनेछौँ।”नेपाल पत्रकार महासंघ मोरङ शाखाका सचिव नेत्र पी. अधिकारीले पक्राउ परेका व्यक्तिले बोकेको पत्रकार परिचयपत्र शंकास्पद रहेको बताएका छन्। उनका अनुसार उक्त व्यक्ति पत्रकार महासंघसँग आबद्ध छैनन्। परिचयपत्रमा जारी मिति र समाप्ति मिति समेत उल्लेख नभएकाले कार्ड नक्कली हुन सक्ने प्रारम्भिक आशंका गरिएको छ। यसबारे सम्बन्धित सञ्चारगृहका सञ्चालकसँग आवश्यक बुझेर थप प्रक्रिया अघि बढाइने अधिकारीले बताए ।

पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखी लागुऔषध सेवन, प्रहरीमाथि अभद्र व्यवहार तथा अन्य सम्बन्धित विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । यस घटनाले पत्रकार परिचयपत्रको दुरुपयोग रोक्न सञ्चार संस्थाहरूले परिचयपत्र वितरण, नवीकरण तथा फिर्ता प्रक्रियालाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्