विराटनगर । मोरङ उद्योग व्यापार संघले आफ्नो हीरक जयन्ती वर्षको अवसरमा मोरङ बहिरा क्रिकेट संघ, विराटनगरका खेलाडीहरूलाई खेल पोशाक (जर्सी) सहयोग गरेको छ। मोरङ बहिरा क्रिकेट संघको आयोजनामा हुन लागेको चौथो प्रादेशिक क्रिकेट प्रतियोगितामा सहभागी हुने खेलाडीहरूको मनोबल उच्च बनाउने उद्देश्यले संघले ३० थान जर्सी सहयोग गरेको हो।
मोरङ उद्योग व्यापार संघको सचिवालयमा आयोजित हस्तान्तरण कार्यक्रममा संघका अध्यक्ष अनुपम राठी, वरिष्ठ उपाध्यक्ष अनिल कुमार साह, महासचिव संजय कुमार श्रेष्ठलगायत पदाधिकारीहरूले मोरङ बहिरा क्रिकेट संघका प्रतिनिधि मोहन तिवारी, अंशु यादव र मोहम्मद साबिरलाई जर्सी हस्तान्तरण गरेका थिए। कार्यक्रममा सांकेतिक भाषा दोभाषेका रूपमा राधिका न्यौपानेले सहजीकरण गरेकी थिइन्।
कार्यक्रममा बोल्दै अध्यक्ष अनुपम राठीले विशेष फरक क्षमता भएका खेलाडीहरूको मनोबल अभिवृद्धि गर्न र खेलकुदमार्फत उनीहरूको पहिचानलाई थप मजबुत बनाउन सहयोग गर्न पाउँदा संघ गौरवान्वित भएको बताए। उनले आगामी दिनमा पनि खेलकुद प्रवर्द्धन तथा सामाजिक उत्तरदायित्वका यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
मोरङ बहिरा क्रिकेट संघका प्रतिनिधि मोहन तिवारीले संघबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै यसले खेलाडीहरूमा नयाँ उत्साह र आत्मविश्वास थपिएको बताए। उनले आगामी चौथो प्रादेशिक क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न यो सहयोग प्रेरणादायी हुने विश्वास व्यक्त गरे।