विराटनगर। लेटाङ नगरपालिकाको एक घरमा दुई पेस्तोल फेला परेको छ। मोरङको लेटाङ नगरपालिका–४ स्थित पुरानो बसपार्क नजिक रहेको लामो समयदेखि कोही नबस्ने घरको छतबाट २ थान कटुवा पेस्तोल बरामद भएको हो। आइतबार अपराह्न करिब ४ बजे बालबालिका खेल्ने क्रममा लामो समयदेखि प्रयोगविहीन रहेको स्थानिय रामलखन साहको एकतले पक्की घरको छतमा पुरानो अवस्थामा रहेका कटुवा पेस्तोल देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय लेटाङबाट प्रहरी निरीक्षक सागर साहको नेतृत्वमा खटिएको प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी खिया लागेर जिर्ण अवस्थामा रहेका २ थान कटुवा पेस्तोल बरामद गरी सुरक्षित रूपमा कार्यालयमा राखेको जनाएको छ।
बरामद भएका हतियार त्यहाँ कसले, कहिले र किन राखेको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको ईलाका प्रहरी कार्यालय लेटाङका प्रमुख साहले जानकारी दिए ।