विराटनगर । गाँजा बोकेर भारततर्फ गइरहेको दुईजनालाई प्रहरीले पिछा गरेपछि भाग्ने क्रममा एकजना विराटनगर १८ भेडियारी क्षेत्रको दलदलमा फसेको आशंका गरिएको छ । इलाका प्रहरी कार्यालय रानीको टोलिले गाँजासहित मोटरसाइकलमा गइरहेका दुईजना व्यक्तिलाई पिछा गरेको थियो ।
आज बिहान पिछा गर्दै जाने क्रममा मोटरसाइकलसहित एकजनालाई प्रहरीले नियन्त्रणमा लियो । जसको साथबाट सात केजी गाँजा समेत बरामद गरेको छ । तर, अर्को व्यक्ति जो मोटरसाइकल चालक थिए, उनी भाग्ने हुँदा पानी जमेर बनेको दलदलमा फसेको आशंका गरिएको छ । यद्यपी अहिले प्रहरीले खोजिरहेको छ ।
मोरङका प्रहरी नायव उपरीक्षक सन्तोष श्रेष्ठका अनुसार गाँजा ओसारपसारमा संलग्न दुवैजना भारतीय नागरिक भएको आशंका गरिएको छ । तर, एकजना नियन्त्रणमा लिएपछि भाग्ने व्यक्ति दलदलमा फसेको आशंकापछि उसकै खोजीमा लाग्दा सबै विवरण यकिन भइनसकेको श्रेष्ठले बताएका छन् ।
यता विराटनगर–१८ का वडाअध्यक्ष जितेन्द्र साहका अनुसार मोटरसाइकलमा दुईजना सवार रहेका थिए । उनीहरुबाट प्रहरीले केहि सामान बरामद गरेको थियो । त्यस क्रममा एकजना भागेका हुन् । वडा अध्यक्ष साहका अनुसार मोटरसाइकलमा रहेकामध्ये एकजना व्यक्ति विराटनगर १८ का हुन् । ‘एकजना यहि वडाका मुन्ना यादव हुन्, जसका बुबा तेजु यादव हुन्’ अध्यक्ष साहले भनेका छन् ।