सुन्दैमा अचम्म लाग्छ, हातखुट्टा अनि पखेटा पनि नभएको जीव सर्प पनि उड्छ भन्दा । तर यो केही हदसम्म सत्य हो। हावामा उड्ने सर्पहरू वास्तवमा अन्य उड्ने जीवहरू जस्तो चरा झैँ आकाशमा भुरुरू उड्ने नभई केवल अग्लो स्थानबाट होचो स्थानतर्फ गुरुत्वाकर्षणको प्रभावमा हावामा तैरिने अर्थात् पौडिने गर्दछन्। जसलाई अंग्रेजीमा 'प्यासिभ फ्लाइट' वा 'ग्लाइडिङ' भनिन्छ।
उड्ने सर्प प्राय : रूखमा बस्ने हरिया रङका हरेउ प्रजातिका सर्पहरू हुन्। वैज्ञानिक भाषामा ‘क्रिसोपेली’ नामले चिनिने यिनीहरू ‘कोलुब्रिडी' परिवार अन्तर्गत पर्दछन्। यिनीहरू मन्द विषालु प्रकृतिका हुने भएकाले यिनीहरूको डसाइ मानिसका लागि घातक हुँदैन। यिनीहरूको बासस्थान मूलतः दक्षिणपूर्वी एसिया हो।यसै परिवार अन्तर्गत पर्ने हेर्दा छिर्केमिर्के देखिने तक्षक नाग, झिल्के सर्प अथवा उड्ने सर्पको नामले चिनिने अंग्रेजीमा ‘अर्नेट फलाइंग स्नेक’ जसको वैज्ञानिक नाम ‘क्रिसोपेली अर्नाटा’ रहेको छ सामान्यतया नेपालका तराइ क्षेत्रमा पाइने गर्दछन्।
उड्छन् कसरी ?
उड्ने सर्पहरूले हावामा हाम्फाल्नु अघि आफ्नो पेटतिर रहेका कडा तथा ठाडा कत्लाहरूको सहायताले रूखको बोक्रामा बलियो पकड बनाउँदै बिस्तारै रूखको माथिल्लो भागतर्फ चढ्छन्। हाँगाको टुप्पोमा पुगेर आफ्नो पुच्छरले हाँगालाई समात्छन् र शरीरको अगाडिको भागलाई अंग्रेजी अक्षर “जे” को आकारमा बनाउँदै उडानका लागि उपयुक्त कोण तथा अवतरण गर्ने स्थानको निर्धारण गर्छन्।
त्यसपछि यिनीहरूले आफ्नो शरीरलाई माथितिर उठाई रूखबाट परतिर धकेल्छन्। यस क्रममा पेटको भागलाई भित्रतिर तानेर करङहरू फैलाउँछन्। यसो गर्दा यिनीहरूको शरीर अस्थायी रूपमा दुई गुणासम्म फराकिलो भई बीच भाग दबिएको अवतल अर्थात् 'कन्केभ' प्यारासुटजस्तो बन्छ। यसबाट यिनीहरूलाई हावाको अतिरिक्त उर्ध्वचाप प्राप्त हुन्छ।
उडानका क्रममा यिनीहरूले आफ्नो शरीरलाई सेलरोटी पकाउँदा पिठो घुमाएजस्तै फन्फनी घुमाउँदै, नागबेली पारामा तैरिँदै गुरुत्वबलको दिशातर्फ सुरक्षित रूपमा जमिनमा अवतरण गर्छन् अथवा एउटा रुखबाट अर्को रुखमा हाम्फाल्ने गर्दछन् तर यिनीहरू तल्लो स्थानबाट माथिल्लो स्थानतर्फ अर्थात् रूखको फेदबाट टुप्पोतर्फ भने उड्न सक्दैनन्।
कति टाढा उड्छन् ?
उडानका क्रममा यिनीहरूले हावामा सामन्यतया दस मिटर देखि तिस मिटर सम्म र अधिकतम एक सय मिटरसम्म दूरी तय गर्न सक्छन्।
खस्छन् त सर्प र भ्यागुता आकाशबाट ? यसरी उडानका क्रममा रहेका उड्ने प्रजातिका सर्प तथा भ्यागुतालाई माथिबाट तलतिर आएको देख्दा, वा ठुलो समुद्री आँधीबेहरीले उडाएर ल्याएका स-साना माछा लगायतका जीवहरू माथिबाट खसेको देख्दा, सर्प, भ्यागुता, माछा लगायतका जीवहरू आकाशबाटै खसेको जस्तो भान हुन सक्छ।