अघोषित लोडसेडिङले उद्योग धराशायी हुने अवस्थामा, समस्या तत्काल समाधान गर्न मोरङ उद्योग व्यापार संघको माग

<span class='c1'>अघोषित लोडसेडिङले उद्योग धराशायी हुने अवस्थामा, समस्या तत्काल</span> <span class='c2'>समाधान गर्न मोरङ उद्योग व्यापार संघको माग</span>

विराटनगर। मोरङ उद्योग व्यापार संघले मोरङ–सुनसरी औद्योगिक क्षेत्रमा भइरहेको अघोषित लोडसेडिङ, बारम्बार हुने विद्युत ट्रिपिङ तथा अनियमित विद्युत आपूर्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

संघले बिहीबार जारी गरेको विज्ञप्तिमा वर्षायाममा समेत उद्योगहरूले अनिर्धारित, अनियमित र अघोषित रूपमा विद्युत अवरोधको सामना गर्नुपरेको उल्लेख गर्दै यसले औद्योगिक उत्पादन र व्यवसायमा गम्भीर असर परेको जनाएको छ।

विज्ञप्तिअनुसार कुनै पूर्वसूचनाविना दैनिक रूपमा हुने पटक–पटकको ट्रिपिङ, न्यून भोल्टेज (लो भोल्टेज) तथा अघोषित लोडसेडिङका कारण उद्योगहरू सञ्चालनमै कठिनाइ उत्पन्न भएको छ। नेपाल विद्युत प्राधिकरणले विद्युत आपूर्तिमा सुधार भएको दाबी गरे पनि वास्तविकतामा उद्योगहरूले दैनिक घण्टौंसम्म अनिश्चितताको सामना गर्नुपरेको संघको भनाइ छ।

संघका अनुसार विद्युतको अनियमित आपूर्तिका कारण उद्योगहरूमा जडान गरिएका करोडौं रुपैयाँ मूल्यका अत्याधुनिक मेसिन, पार्टपुर्जा, इलेक्ट्रोनिक प्यानल तथा सफ्टवेयर प्रणालीमा क्षति पुगिरहेको छ। यसले उद्योगीहरूलाई मर्मतसम्भारमा ठूलो आर्थिक भार थपिएको जनाएको छ।

विशेषगरी प्लास्टिक, स्टिल, सिमेन्ट, खाद्य तथा रासायनिक पदार्थ उत्पादन गर्ने उद्योगहरूमा उत्पादन प्रक्रियाकै बीचमा विद्युत काटिँदा मेसिनभित्र रहेका कच्चा पदार्थ नष्ट हुने, डढ्ने र करोडौं रुपैयाँ बराबरको उत्पादन खेर जाने अवस्था सिर्जना भएको संघले उल्लेख गरेको छ।

त्यस्तै, विद्युत आपूर्ति अनियमित हुँदा उद्योगमा कार्यरत हजारौं श्रमिकहरू कामविहीन भएर बस्नुपर्ने, तर उद्योगहरूले पारिश्रमिक तथा सञ्चालन खर्च भने यथावत् व्यहोर्नुपर्ने बाध्यता रहेको जनाइएको छ। यसले स्वदेशी उद्योगको उत्पादन क्षमता र प्रतिस्पर्धात्मक क्षमता कमजोर बन्दै गएको संघको भनाइ छ।

संघले समयमा उत्पादन हुन नसक्दा बजारमा वस्तुको अभाव सिर्जना हुने, मागअनुसार आपूर्ति गर्न नसक्दा उद्योगहरूको साख गुम्ने तथा आयातित वस्तुले बजार ओगट्ने जोखिमसमेत बढेको जनाएको छ।

देशको अर्थतन्त्रको मेरुदण्ड मानिएको औद्योगिक क्षेत्रलाई बिनापूर्वसूचना अन्धकारमा राख्नु र उद्योगीका समस्याप्रति बेवास्ता गर्नु अत्यन्तै दुःखद भएको उल्लेख गर्दै संघले नेपाल विद्युत प्राधिकरण तथा सम्बन्धित निकायसँग अघोषित लोडसेडिङ र ट्रिपिङको समस्या तत्काल अन्त्य गर्न माग गरेको छ।

साथै, प्राविधिक कारणले विद्युत आपूर्ति बन्द गर्नुपर्ने अवस्था आएमा उद्योग व्यवसायलाई पूर्वसूचना उपलब्ध गराउन तथा स्वदेशी उद्योगको संरक्षणका लागि गम्भीर र जिम्मेवार बन्न संघले सम्बन्धित निकायलाई आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्