सोनु साह
विराटनगर। मोरङ जिल्लाबाट प्रधानमन्त्री बनेका सात जना दिवंगत राष्ट्रिय नेताको स्मृतिमा विराटनगरमा निर्माण भइरहेको ‘प्रधानमन्त्री पार्क’ निर्माण सम्पन्न भएसँगै अन्तिम चरणमा पुगेको छ। निर्माण सम्पन्न भए पनि निर्माण व्यवसायीबाट महानगरपालिकालाई औपचारिक रूपमा हस्तान्तरण हुन भने बाँकी रहेको छ।

विराटनगर महानगरपालिकाको बहुवर्षीय योजनाअन्तर्गत वडा नम्बर २ र ७ को सीमाक्षेत्रमा निर्माण गरिएको पार्क २०७९ सालमा महानगरपालिका र खुश्बु निर्माण सेवा कम्पनीबीच करिब १७ करोड रुपैयाँ लागतमा सम्झौता गरी निर्माण थालिएको थियो। निर्माण अवधिमा जग्गा विवाद र साइट क्लियरेन्समा भएको ढिलाइका कारण तोकिएको समयमै काम सम्पन्न हुन नसकेपछि म्याद थप गरिएको थियो। महानगरपालिकाको योजना महाशाखाका इन्जिनियर सुजन श्रेष्ठका अनुसार हाल पार्कको सम्पूर्ण निर्माण कार्य सकिएको छ। अब महानगरपालिकाले प्राविधिक अनुगमन सम्पन्न गरेपछि मात्रै निर्माण व्यवसायीबाट पार्क हस्तान्तरण गरिनेछ।


उनका अनुसार पहिलो चरणको अनुगमन असार २८ गतेका लागि तय गरिएको छ। अनुगमनका क्रममा विद्युतीय बत्ती, खानेपानी तथा धारा, संरचनाको गुणस्तर लगायतका प्राविधिक पक्षको परीक्षण गरिनेछ। अनुगमनपछि सबै पक्ष सन्तोषजनक देखिए पार्क महानगरपालिकालाई हस्तान्तरण गरिने श्रेष्ठले जानकारी दिए। उनले पार्क हस्तान्तरणपछि सञ्चालन कार्यविधि तयार गरी सर्वसाधारणका लागि खुला गरिने बताए। पार्कको जमिनमुनिको भाग खाली राख्ने निर्णय गरिएको छ भने प्राकृतिक घाँस र दुबो संरक्षण गरिनेछ। बालबालिकाका लागि खेल सामग्री भने हस्तान्तरणपछि जडान गरिने योजना रहेको उनले बताए।


पार्कलाई ए, बी र सी गरी तीन ब्लकमा विभाजन गरिएको छ। ए ब्लकमा खुला सांगीतिक कार्यक्रम सञ्चालन गर्न मिल्ने खुला क्षेत्र रहनेछ। बी ब्लकमा श्रद्धाञ्जली स्मारक, बाल उद्यान, विश्रामस्थल तथा दिवंगत प्रधानमन्त्रीहरूको प्रतिमा स्थापना गरिएको छ। सी ब्लकमा स्नानस्थल र बोटिङ क्षेत्र निर्माण गरिएको छ।

बालबालिकाका खेल क्षेत्र र व्यवस्थित मनोरञ्जन स्थलको अभाव रहेको विराटनगरमा यो पार्कलाई महत्वपूर्ण सार्वजनिक पूर्वाधारका रूपमा हेरिएको छ। पार्क सञ्चालनमा आएपछि आन्तरिक तथा बाह्य पर्यटक आकर्षित हुने महानगरपालिकाको अपेक्षा छ। पार्कमा मोरङ जिल्लाबाट प्रधानमन्त्री बनेका सात जना दिवंगत नेता (विश्वेश्वर प्रसाद कोइराला, मातृका प्रसाद कोइराला, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, नरेन्द्र प्रसाद रिजाल र सूर्यबहादुर थापाको स्मारक स्थापना गरिएको छ। साथै पूर्वप्रधानमंन्त्री सुशीला कार्कीको पनि स्मारक निर्माण गरिएको छ। प्रत्येक स्मारकमा सम्बन्धित व्यक्तित्वको परिचय र राष्ट्रप्रतिको योगदानसमेत उल्लेख गरिनेछ।
