विराटनगर । मोरङ कारागाराका कैदीबन्दीको सुविधा वापतको रकम असुली गरेको आरोपमा पक्राउ परेका अभिषेक गिरीले श्रमको मूल्य समेत हडप्ने गरेको खुलेको छ । मोरङ प्रहरीले कैदीबन्दीको पैसा असुलेको आरोपमा असार १३ गते शनिबार गिरीलाई विराटनगर–८ मधुमारास्थित उनको निवासबाट नियन्त्रणमा लिइएको थियो ।
आपराधिक विश्वास घात गरेको कसूरमा अनुसन्धानसँगै संगठित अपराधमा मुद्दामा म्याद थप गर्न सोमबार मोरङ अदालत लगिएकोमा अदालतले उनलाई थुनामुक्त गरेर अनुसन्धान गर्न आदेश दिएको थियो । अदालतले दिएको आदेश बमोजिम उनी छुट्नासाथ प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई पुनः पक्राउ गरी काठमाडौँ पुर्याएको छ । अहिले उनीमाथि अनुसन्धान जारी छ । उनीमाथि अनुसन्धान चलिरहँदा गिरीको कारागार आतंक बारे अहिले विभिन्न विषय बाहिरिएका छन् । मोरङ कारागारका कैदीबन्दीले चार वर्षदेखि बुनेका मुढा र गलैँचा बिक्रीबापतको १ करोड ७ लाख रुपैयाँ अभिषेक गिरी र उनका सहयोगी सञ्जयकुमार मण्डलको खातामा जाने गरेको भेटिएको छ । २०७९ देखि हालसम्म कैदीबन्दीले बनाएका मुढा बिक्रीको ठुलो रकम गिरी र उनका सहयोगीहरूको खातामा जम्मा भएको प्रहरीको अनुसन्धानबाट खुलेको हो ।
कारागारका कैदीबन्दीले उत्पादन गरेका मुढा र गलैँचा काठमाडौँका व्यापारी विजय साह र उनका छोरा अभिषेक साह तथा चितवनका व्यापारी डिल्लीराम पन्तले खरिद गर्दै आएका थिए । उनीहरूले सामान खरिद गरेबापतको भुक्तानी गिरी र सहयोगी मण्डलको खातामा पठाउने गरेको देखिएको छ । प्रारम्भिक अनुसन्धानअनुसार व्यापारी साहले ५५ लाख र पन्तले ५२ लाख रुपैयाँ गिरी र उनले तोकेका व्यक्तिहरूको खातामा हालिदिएका छन् । गिरीको नेपाल इन्भेस्टमेन्ट बैंक, उनका सहयोगी सञ्जय मण्डलको सिटिजन्स बैंक र कामना सेवा विकास बैंकको खातामा जम्मा भएको देखिएको छ । विवरणअनुसार सन् २०२६ जुनसम्ममा मात्र गिरी र उनका सहयोगीको खातामा २४ लाख रुपैयाँभन्दा बढी जम्मा भएको छ ।
व्यापारी साहले एनएबी बैंकको खातामा पटक–पटक ठुलो रकम पठाउने गरेका थिए । उनले २०२४ अप्रिल ३ मा ४ लाख ११ हजार ३८० र मार्च २२ मा ४ लाख ४९ हजार रुपैयाँ पठाएका छन् । यस्तै, आइपीएस मार्फत फेब्रुअरी १५ मा ४ लाख ५४ हजार ५ सय र मार्च ४ मा ४ लाख ३१ हजार ४८० रुपैयाँ कुमारी बैंकमार्फत पठाएको देखिएको छ ।
विवरणअनुसार सञ्जयकुमार मण्डलको सिटिजन्स बैंकको खातामा ४ लाख ४९ हजार ३६० रुपैयाँ जम्मा भएको छ । सन् २०२४ जुन ११ मा उक्त रकम अभिषेक साहले जम्मा गरेका हुन् । अभिषेकको साझेदार भएर सन्जय मण्डलले कटहरी क्षेत्रमा आफ्नो रवाफ देखाउँदै आएका थिए । यतिसम्मकी सहकारीको रकम आफैं अपचलन गरेर तृतिय तहमा नियुक्त भएका कार्यालय सहयोगीलाई जर्बरजस्ती कबुल गराउन लगाएका थिए । जसमा दुई तहका अदालतले फैसला दिएपनि प्रहरीले सुरु अनुसन्धान गर्ने तयारी समेत गरेको छ ।
गिरी र मण्डल पछिल्लो समय ठेक्कापट्टामा समेत साझेदार थिए । उनीहरु श्रेष्ठ कन्ट्रसनको विभिन्न सवारी कवाडीमा बेचेको भनेर आफ्नो नियन्त्रणमा राखेर काम चलाइरहेको आरोप समेत छ । मण्डल नेपाली कांग्रेस कटहरी–२ का वडा सभापति हुन् । मोरङ कारागारमा रहेका १ हजार १९९ कैदीबन्दीमध्ये करिब ५ सय जनाले मुढा र १ सय जनाले गलैँचा बुन्ने काम गर्छन् । उनीहरूले श्रम गरेर तयार पारेका सामग्री काठमाडौँ र चितवनका बजारमा पुग्छन्, तर भुक्तानी भने सिधै गिरीको व्यक्तिगत खातामा जाने गरेको छ । कारागार प्रशासनका अनुसार महिनामा औसत एक ट्रक मुढा बिक्री हुँदा ३ देखि ४ लाख रुपैयाँ सङ्कलन हुन्थ्यो ।
यसैगरी, असार १२ गते मोरङ कारागारको ‘ब्लक बी’ मा रहेका ५४४ जना कैदीबन्दीलाई जनही २५ सयका दरले वितरण गरिएको १३ लाख ६० हजार रुपैयाँ भत्ता पनि गिरीका सहयोगीहरूले जबरजस्ती सङ्कलन गरेको आरोप छ । यस असुलीमा मण्डलसँगै विनोद सिंह, तरकारी आपूर्तिकर्ता विजय कामत र केही कारागार कर्मचारीको समेत संलग्नता देखिएको प्रहरीको दाबी छ । गिरीसँग उठबस गर्नेहरु समूहले कसरीले विभिन्न व्यक्तिका जग्गा आफ्नो नाममा पार्न विभिन्न प्रपन्च रच्थे भन्ने कुरा क्रमशः खुल्दै गएको छ । गिरीले जोडेको जग्गामात्रै नभई उनलाई आतंक मच्चाउन सहयोग गरे वापत विभिन्न व्यक्तिले लिएको रकमका बारेमा समेत प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको छ ।