जनकपुर । मिटरब्याज पीडितहरुले जनकपुरदेखि काठमान्डौसम्मको पैदल मार्च शुरु गरेका छन् । बिहीबार जनकपुरधामको तिरहुतिया गाछि मैदानबाट देशभरका विभिन्न स्थानबाट आएका मिटरब्याज पीडितहरुले काठमाडौंसम्मको पैदल मार्च शुरु गरेका हुन् । पैदल मार्च शुरु गर्नुअघि उनीहरुले फर्जि तमसुक जलाएका थिए । साथै उनीहरुले मशाल जलाएर मार्चको शुभारम्भ गरेका छन् ।
पैदल मार्च शुरु गर्नुअघि लघुवित्त्त्त तथा वित्तिय शोषन विरुद्ध किसान मजदुर आन्दोलनका केन्द्रि अध्यक्ष रमेश सेन्चुरीले यस पटकको संघर्ष अन्तिम हुने जानकारी दिए । उनले बालेन्द्र साहले प्रधानमन्त्री बन्नुअघि जनकपुरधामबाटै गरेको सम्बोधनमा मिटरब्यजबाट पीडित भएकाहरुको समस्या समाधान गर्ने उद्घोष गरेतापनि १०० दिन बितिसक्दा पनि आफूहरुलाई बेवास्ता गरेको भन्दै गुनासो पोखे ।
अध्यक्ष सेन्चुरीले सरकारसँग चार पटक सहमति भए पनि कुनै सहमति प्रभावकारी रूपमा कार्यान्वयन नभएकाले अन्तिम प्रयास स्वरुप पुनः पैदल मार्च गर्नुपरेको बताए । उनले काठमाडाैं पुगेर सरकारविरुद्ध आन्दोलन गर्नुअघि सरकारले आफूहरुको माग सम्बोधन गर्नेमा आशावादी रहेको पनि बताए । उनले मिटरब्याज पीडित देशभरि छरिएर रहेकोले सबैलाई काठमान्डौ सम्मको पैदल यात्रामा सहभागी हुन आग्रह गरे ।