सोनु साह
विराटनगर । कोशी अस्पताल परिसरभित्र रहेको ६७ वर्ष पुरानो राष्ट्रिय क्षयरोग (टीबी) अस्पताल विराटनगर अहिले हटाइने सम्भावनाले अन्योलमा परेको छ। कोशी अस्पताल प्रशासनले आफ्नो जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउन सूचना जारी गरेपछि टीबी अस्पतालको भवन पनि त्यसको सूचीमा परेको छ । हट्नुपर्ने दवावपछि सेवा प्रभावित हुने चिन्ता बढेको हो।
राष्ट्रिय क्षयरोग नियन्त्रण कार्यक्रमको इतिहास हेर्दा वि.सं. १९८९ सालमा भक्तपुरको ठिमीमा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र स्थापनाबाट भएको थियो । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) लगायत अन्तर्राष्ट्रिय साझेदारहरूको सहयोगमा सञ्चालनमा आएको कार्यक्रम विस्तार हुँदै वि.सं. २०१६ सालमा विराटनगरमा पनि टीबी अस्पताल स्थापना गरिएको थियो। त्यसयता यो अस्पतालले पूर्वी नेपालका हजारौं क्षयरोगीलाई उपचार सेवा प्रदान गर्दै आएको छ।
कोशी अस्पताल प्रशासनले असार ५ गते अस्पतालको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन १५ दिने सूचना जारी गरेको थियो। सूचना अवधि असार २२ गते सकिए पनि संरचना खाली नभएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र गृहमन्त्री सुधन गुरुङको संयुक्त अनुगमनका क्रममा अस्पताल प्रशासनलाई सात दिनभित्र अतिक्रमित संरचना खाली गराउन निर्देशन दिइएको थियो। त्यसपछि प्रशासनले पुनः सात दिने सूचना जारी गरेको छ।
यही सूचनाअनुसार राष्ट्रिय क्षयरोग (टीबी) अस्पतालको भवन पनि हटाउनुपर्ने संरचनामध्ये परेको छ। तर टीबी अस्पताल प्रशासनले भने आफूहरूले कोशी अस्पतालको जग्गा अतिक्रमण नगरेको दाबी गरेको छ।


क्षयरोग निवारण संस्थाका सचिव भवेश कुमार श्रेष्ठका अनुसार टीबी अस्पताल २०१६ सालमै स्थापना भएको संस्था हो। त्यतिबेला यहाँ कोशी अस्पताल थिएन। हामीले अतिक्रमण गरेको भन्ने प्रचार सत्य होइन,उनले भने। श्रेष्ठका अनुसार अस्पतालसँग अहिले पनि कोशी अस्पतालले विगतमा टीबी अस्पतालको जग्गा प्रयोग गरेबापत भाडा तिरेको कागजात सुरक्षित रहेको छ। उनका अनुसार अस्पतालले करिब ३ कठ्ठा २ धुर क्षेत्रफलमा आफ्नो संरचना निर्माण गरेको छ।
अस्पतालले सञ्चालन खर्च जुटाउन केही सटर भाडामा दिएको छ। श्रेष्ठ भन्छन्,सबैले सटरको भाडा मात्रै देख्नुहुन्छ, तर यही रकमबाट कर्मचारीको तलब, बिरामीको औषधि, खाना र अन्य सेवा सञ्चालन गरिरहेका छौं।
हाल अस्पतालमा दैनिक ४० देखि ५० जना क्षयरोगका बिरामी उपचारका लागि आउने गरेका छन्। गम्भीर अवस्थाका तथा औषधि प्रतिरोधी (डीआर–टीबी) बिरामी, कारागारका कैदीबन्दी र टाढाबाट आउने बिरामीका लागि अस्पतालले आवासीय सुविधा समेत उपलब्ध गराउँदै आएको छ। अस्पतालको आवास गृहमा अहिले ७ जना कैदीबन्दीसहित १९ जना बिरामी बसिरहेका छन्। उनीहरूलाई निःशुल्क आवास, औषधि, तीन छाक भोजन, खाजा, कपडा धुने सेवा तथा आवश्यक हेरचाहको व्यवस्था गरिएको अस्पतालले जनाएको छ। बिरामीबाट कुनै शुल्क लिइँदैन भने औषधि नेपाल सरकारले उपलब्ध गराउने गरेको छ।
अस्पताल प्रशासनका अनुसार क्षयरोग अत्यन्तै संवेदनशील तथा सरुवा रोग भएकाले विशेषगरी डीआर–टीबीका बिरामीलाई नियमित निगरानी, समयमै औषधि सेवन र सुरक्षित बसोबास आवश्यक पर्छ। त्यसैले उनीहरूलाई अस्पतालकै आवास गृहमा राखेर उपचार गर्ने गरिएको हो। टीबी अस्पताल हटाइए उपचाररत बिरामीलाई तत्काल कहाँ व्यवस्थापन गर्ने भन्ने विषय अझै अन्योलमा छ। बिरामी, स्थानीय बासिन्दा तथा अस्पताल व्यवस्थापनको भनाइ छ—सरकारले सार्वजनिक जग्गा संरक्षण गर्नु आवश्यक भए पनि वैकल्पिक व्यवस्था नगरी वर्षौंदेखि सेवा दिइरहेको अस्पताल हटाउँदा हजारौं बिरामी प्रत्यक्ष प्रभावित हुन सक्छन्।
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र एक गैरसरकारी संस्था हो। नेपालमा क्षयरोग नियन्त्रण गर्ने उद्देश्यले विभिन्न अन्तर्राष्ट्रिय साझेदार संस्थाको सहयोगमा कार्यक्रम सञ्चालन हुँदै आएको छ। हाल अस्पतालको केही कार्यक्रम अन्तर्राष्ट्रिय विकास साझेदारहरूको सहयोगमा सञ्चालन भइरहेको अस्पतालले जनाएको छ। अब सरकार र सम्बन्धित निकायले टीबी अस्पतालको भविष्यबारे कस्तो निर्णय लिन्छन् भन्नेमा बिरामी, स्वास्थ्यकर्मी र स्थानीयको चासो केन्द्रित भएको छ।