सोनु साह
विराटनगर । मोरङ जिल्लामा गत एक वर्षको अवधिमा विभिन्न प्रकारका विपद्का घटनामा परी ३७ जनाको मृत्यु भएको छ भने ७२ जना घाइते भएका छन्।
कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्तर्गत प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्रको तथ्यांकअनुसार २०८२ साल साउनदेखि २०८३ साल असार ९ गतेसम्म जिल्लामा भएका विपद्का घटनामा उक्त मानवीय क्षति भएको हो।
विवरणअनुसार बाढीका कारण १ जनाको मृत्यु भएको छ। पहिरोका घटनामा हालसम्म १ जना बेपत्ता रहेका छन् भने मृत्युको घटना भने भएको छैन। चट्याङ लागेर १ जनाको मृत्यु हुनुका साथै १ जना घाइते भएका छन्। चट्याङका कारण २ वटा चौपायाको समेत मृत्यु भएको केन्द्रले जनाएको छ। जंगली जनावरको आक्रमणबाट ५ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्। करेन्ट लागेर सबैभन्दा धेरै १४ जनाले ज्यान गुमाएका छन् भने २० जना घाइते भएका छन्।
त्यस्तै, सर्पदंशबाट ४ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्। पानीमा डुबेर १२ जनाको ज्यान गएको छ भने १ जना घाइते भएका छन्।
हावाहुरीका कारण ३ जना घाइते भएका छन् भने २६ घरमा क्षति पुगेको छ। आगलागीका घटनामा २३ जना घाइते भएका छन्। आगलागीबाट ८२ घर र ३३ गोठमा क्षति पुगेको छ भने ३४ वटा चौपाया मरेका तथा ७ वटा चौपाया घाइते भएका छन्।
प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार यी विपद्का घटनाबाट मोरङमा कुल ७१ लाख २७ हजार ७ सय ६८ रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ। मनसुन सक्रिय भइरहेका बेला बाढी, डुबान, चट्याङ, सर्पदंश तथा अन्य प्राकृतिक विपद्का जोखिम बढ्दै गएको भन्दै सम्बन्धित निकायले नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।