विराटनगर । कोशी प्रदेशको व्यापारिक तथा औद्योगिक नगरी विराटनगरलाई कर्मथलो बनाएर सङ्गीत क्षेत्रमा सङ्घर्षरत युवाहरूको नयाँ साङ्गीतिक समूह (ब्यान्ड) ‘अबुझ सोचाइ’ ले आफ्नो नयाँ मौलिक प्रस्तुति बजारमा ल्याएको छ । ‘अल्टरनेटिभ रक’ विधाको उक्त ब्यान्डले युवा पुस्तालाई लक्षित गर्दै ‘जा भाग्’ बोलको नयाँ गीत तथा भिडियो सार्वजनिक गरेको हो ।
विराटनगरकै ‘बिट्स डिजिटल अडियो’ मा रेकर्ड गरिएको यस गीतको मिक्सिङ र मास्टरिङ भने चर्चित सङ्गीतकार विजु कर्माचार्यले गर्नुभएको हो । मानव जीवनमा आइपर्ने नकारात्मकताबाट मुक्त हुन, आफ्ना निर्णयहरूमा अडिग रहन र आफ्नो बाटो आफैँ रोज्नका लागि गीतले सकारात्मक ऊर्जा र सन्देश प्रवाह गर्ने ब्यान्डका सदस्यहरूले बताएका छन् । कडा र शक्तिशाली गितारको धुन (पावरफुल गिटार रिफ्स) तथा सशक्त गायन शैलीका कारण यो गीत युवा पुस्ता माझ लोकप्रिय बन्ने अपेक्षा गरिएको छ ।
नवगठित यस रक ब्यान्डमा मुख्य गायकका रूपमा श्रीजय थपलिया रहनुभएको छ भने गितारमा सौगात चौधरी र राहुल भट्टराई रहेका छन् । त्यसैगरी, ड्रम्समा प्रयुश कोइराला र बेस गितारमा रोहन मगरको साथ रहेको छ । इन्डिपेन्डेन्ट नेपाली म्युजिकलाई नयाँ उचाइमा पुर्याउने र मोफसलमा रहेर पनि उत्कृष्ट सङ्गीत सिर्जना गर्न सकिन्छ भन्ने उद्देश्यका साथ आफू साङ्गीतिक यात्रामा होमिएको ब्यान्डका सदस्यहरूले जानकारी दिएका छन् ।