विराटनगर । झापामा भारततर्फ अवैध निकासी गर्न गोदाम गरेर राखिएको आशंमामा प्रहरीले तरबुजको बियाँ नियन्त्रणमा लिइएको छ ।
झापाका प्रहरी उपरीक्षक बसुन्धरा खड्का नेतृत्वमा परिचालित ५५ जनाको टोलीले भद्रपुर नगरपालिक ३ ज्ञानेचौकस्थित भीमलाल सुवेदीको घरबाट ९४८ बोरा तरबुजको बियाँ नियन्त्रणमा लिएको हो । भद्रपुरको गोदाममा राखिएको बियाँ बिरगञ्ज भन्सारबाट कुबेर एक्जिम प्रा.लि.ले आयात गरेको देखिएको छ । उक्त वस्तु महादुर्गा अर्डर सप्लायर्स भद्रपुर ५ ले झापामा गोदाम गरेको आशंका गरिएको छ । प्रहरीले बरामद गरेको बियाँको बजार खुद्रा मूल्य ३४ करोड भन्दा बढीको हुने दावी गरिएको छ । प्रहरीले नियन्त्रणमा लिएको तरबुजको एकबोरा बियाँको वजन ४० केजी रहेको छ ।
समुद्रपारका मुलुकबाट आयात गरेर भारततर्फ अवैध निर्यात गराउने उद्देश्यले यो वस्तु आयात हुँदै आएको छ । सन् २०२३ मा भारतले यसको परिणात्मक बन्देज लगाएपछि नेपालका व्यवसायी यसको वैधानिक आयात गरेर अवैध निकासी गर्न पल्किएका हुन् । चालु आर्थिक वर्षमा यसको आयात अप्रत्यासित देखिएको छ । नयाँ सरकार बनेको तीन महिनामा समेत यसको अवैध आयात र निकासीको अवस्था विश्लेषण गर्ने हो भने सीमामा सानासाना झोलेपोके मात्रै समातिरहेको स्थिति देखिन्छ ।
भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ११ महिनामा ३ अर्ब ४ करोड ८४ लाख १२ हजार मूल्यको २० हजार १५४ टन तरबुजको बियाँ आयात भएको छ । आयात भएको यो वस्तु अवैध रुपमा निकासी हुने गर्दछ । विभागको तथ्यांक अनुसार सबैभन्दा बढी अफगानिस्तानबाट ७ हजार १०९ टन, दोस्रोमा नाइजेरियाबाट ६ हजार ४०६ टन, तेस्रोमा सुडानबाट ३ हजार ८२७ टन र युएईबाट २ हजार ८१२ टन आयात गरिएको छ । त्यस बाहेक चीन, टर्की, भारत, उज्वेकिस्तानबाट समेत आयात भएको देखिन्छ ।
गत आर्थिक वर्षमा २५ करोड ७० लाख मूल्यको १ हजार २८६ टन आयात भएको थियो । जसमा सबैभन्दा बढी अफगानिस्तानबाट ४४५, नाइजेरियाबाट ३२४ र चीनबाट १४५ टन भित्र्याइएको थियो । तरबुजको बियाँ २०८१ को चैतदेखि आयात बढ्दो देखिन्छ । त्यसबेलादेखि नै भारतले समेत परिणामात्मक बन्देज लगाएको थियो । आर्थिक २०८०÷०८१ मा ९ करोड १३ लाख मूल्यको ५०२ टन आयात भएको थियो । त्यस अगाडीका अािर्थक वर्षहरु २०७९÷०८० मा २ करोड १४ लाखको १२७ टन र २०७८÷०७९ मा २ करोड ३ लाखको ९९ टन आयात भएको देखिन्छ ।
वैधानिक रुपमा आयात भइरहेको तरबुजको बियाँ झापाबाटै सबैभन्दा धेरै तस्करी हुने गरेको छ । जसमा किसनगञ्जका व्यापारी फुर्दोसले झापाको भद्रपुरका राजन मगरको टिमबाट निकासी हुने तरबुजको बियाँ लिने गरेको छ । नेपालमा खुद्रा मूल्य ९०० प्रतिकेजी पाइने यो भारतमा एक हजार ४०० प्रतिकेजी भारतीय मूल्यमा बिक्री हुने गरेको छ । भारतमा परिणात्मक बन्देज लगाएपछि यसको माग अधिक छ ।
के हो तरबुजको बियाँ ?
तरबुजको बियाँलाई मगज पनि भनिन्छ । भारतमा यसको सबैभन्दा बढी प्रयोग तरकारीको ग्रेभी बनाउन हुनेगर्छ । नेपालमा तरबुजालाई धेरैले खरबुजा भन्ने गर्छन् तर खरबुजाको आकारप्रकार र स्वाद अर्कै हुन्छ । वाटर मेलोन भनेको तरबुजा नै हो खरबुजा होइन । मध्यपूर्व र दक्षिण एसियाका मुलुकमा मसालेदार खानेकुरा बढी चल्ने हुँदा मसलाका रुपमा मगजको पनि उपयोग गरिएको हो । मासु वा तरकारीको लेदो बनाउँदा काजु, बदाम, पोस्ता दानासँगै मगज पनि पिसिन्छ । प्रायः पोस्ता दाना र मगजको पेस्ट बनाउने गरिन्छ । परिकारमा ह्वाइट ग्रेभी (तरकारीको सेतो लेदो)–मा त मगज नभई हुँदैन । प्रायः काजु र मगजको पेस्टबाट ह्वाइट ग्रेभी बनाइन्छ । मगज एक पौष्टिक खानेकुरा भएकाले भारत र अन्य विकसित मुलुकमा खाजाका रुपमा पनि यसलाई प्रयोग गरिन्छ । प्रायः भुटेर (रोस्टेड मेलोन सिड्स) खाजामा प्रयोग हुन्छ । यसलाई मिठाईमा पनि प्रयोग गरिन्छ । गुँदपाक, लड्डू लगायतका मिठाईमा देखिने सेतो बियाँ यही मगज नै हो । यसबाहेक दालमोठ, कुछकुछ लगायतका एफएमसीजीमा पनि रोस्टेड मगजको मिश्रण हुने गरेको छ ।
तस्करीको आकर्षक तरबुज बियाँ
भारतमा माग बढेपछि नेपालमा वैधानिक बाटो भएर भित्र्याउने अनि अवैध रुपमा निकासी गर्ने काम बढ्दो छ । कुनैबेला सुपारी वा पोस्तादाना वा हरिया केराउमा लगानी गरेर अवैध निकासी गर्ने समूह नै अहिले तरबुजको बियाँको कारोबारमा संलग्न रहेको आरोप छ । त्यहि समूह हावी रहेका कारण झापाको पनि भद्रपुरमा यसलाई गोदाम गरेर राखिएको थियो । जसको निकासी गर्न भद्रपुर आसपास वा केचनाकवलबाट सहज हुनसक्थ्यो ।