जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि २ अर्व ६५ करोड २० लाख ३२ हजार रुपैयाँको बजेट ल्याएको छ । सोमबार उपमहानगरपालिकाको सभाहलमा १५ औं नगरसभा सम्पन्न गर्दै जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले नीति तथा कार्यक्रमसहित बजेटबारे जानकारी दिएका छन् ।
मेयर साहले अबको बजेटमा पर्यटन प्रवद्र्धन र सरसफाईलाई विशेष प्राथमिकतामा राखिएको जानकारी दिए ।उनका अनुसार बजेटमा आन्तरिक स्रोत तर्फ करिब २० करोड, नेपाल सरकारबाट प्राप्त हुने समानीकरण अनुदान तर्फ ३० करोड ५९ लाख, प्रदेश सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँट र सशर्ततर्फका आयोजनाहरुको रकम तथा चालू आ.व.मा बचत हुने रकमबाट उक्त बजेट खर्च व्यहोरिनेछ ।
यस आवमा एशियाली विकास बैंकबाट संचालन हुने शहरी उत्थानशिलता परियोजनाको ठेक्का प्रक्रिया अगाडि बढाइने मेयर साहले जानकारी दिए । उनका अनुसार यस परियोजनाका लागि एशियाली विकास बैंकबाट प्राप्त हुने स्रोतको साथै नगरविकास कोषबाट प्राप्त हुने ऋण सहयोगमा नगरपालिकाको तर्फबाट प्राप्त समेत शीर्षकगत रुपमा समायोजित कोषको व्यवस्था गरिने छ ।
आन्तरिक स्रोतबाट प्राप्त हुने रकमबाटै सो रकमको व्यवस्था गर्नुपर्ने भएकाले स्रोतमा केही चाप पर्न जाने मेयर साहले जानकारी दिए । उनले यस योजना सम्पन्न हुँदा नगरका सडक र नाला एवम सामाजिक संस्कृति थप व्यवस्थित हुने दाबी गरे । बजेट प्रस्तुत गर्नुअघि मेयर साहले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । जनकपुरधाम उपमहानगरपालिकाका विभिन्न वडाका वडासदस्यहरुले नीति तथा कार्यक्रममाथि प्रश्न उठाएका थिए ।