विराटनगर । कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था कार्यालय, विराटनगरले अनलाइन प्रणालीमा समस्या देखिएको भन्दै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी अधिकांश सेवा अस्थायी रूपमा स्थगित गरेको जनाएको छ।
कार्यालयले सोमबार सूचना जारी गर्दै अनलाइन प्रणालीमा प्राविधिक समस्या उत्पन्न भएकाले लाइसेन्स वितरणबाहेक अन्य सबै सेवाहरू अर्को सूचना प्रकाशित नभएसम्मका लागि रोकिएको जनाएको हो।
सूचनाअनुसार लाइसेन्ससम्बन्धी बायोमेट्रिक, नवीकरण, लिखित परीक्षा तथा प्रयोगात्मक (ट्रायल) परीक्षा लगायतका सम्पूर्ण प्रक्रिया हाललाई स्थगित गरिएको छ। कार्यालयले सेवाग्राहीलाई पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै प्रणाली सुचारु भएपछि अर्को सूचना मार्फत जानकारी गराइने जनाएको छ।