विराटनगर । कोशी प्रदेशमा तराईका जिल्लामा भारतबाट हुने अवैध कारोबारमा कारोबारीसँग मिलेमतो गर्ने सशस्त्र प्रहरी बलका २ डीएसपीसहित १० जना हेडक्वाटर तानिएका छन् । तस्करीमा संलग्न रहेका व्यक्तिबाट पैसा असुल्दै सामान सम्बन्धित स्थानसम्म पुग्दासम्म रेकी गर्ने गरेको आरोपमा उनीहरु तानिएका हुन् ।
तल्लो तहका सुरक्षाकर्मीले तस्करीमा संलग्न कारोबारीबाट रकम संकलन गरेर एकमुष्ठ उपल्ला अधिकारीहरुलाई उपलब्ध गराउने गरेको सूचनाका आधारमा उनीहरुलाई तानिएर अनुसन्धान भइरहेको छ । सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी नेत्रबहादुर कार्कीका अनुसार असार १० गते तिनजनालाई तानेपछि बाँकी त्यसमा संलग्न रहेकाहरु क्रमशः हेडक्वाटर तानिएका हुन् ।
सीमा क्षेत्रमा हुने अवैध क्रियाकलापमा संलग्न देखिएका जुनसुकै दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरु माथि कडाईका साथ कारवाही गर्न थालिएको हो । त्यसका लागि सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले सीमा क्षेत्रमा परिचालित सशस्त्र प्रहरी कर्मचारीहरुको आर्थिक सुशासन, कार्यसम्पादन र अनुशासनमा त्रुटि फेला पारेपछि छानविन गरिरहेको हो ।
प्रवक्ता कार्कीका अनुसार सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरी मातहत कार्यालयहरुमा कार्यरत सशस्त्र प्रहरी हवल्दार हरि बहादुर मगरसहित तीन जनाको अनुशासन र कार्यसम्पादनमा त्रुटि भेटिएपछि असार १० गते प्रधान कार्यालय तानिएको थियो । उनीसहितको बयानका क्रममा झापाको काँकडभिट्टामा कार्यरत रही हाल इलाममा कार्यरत रहेका डीएसपी लोकनाथ उप्रेती, सीमा सुरक्षा गुल्म हरिपुर सुनसरीका शमशेर कार्की, बोर्डर आउट पोस्ट (बीओपी)को लौकही सुनसरीका इन्स्पेक्टर नरेन्द्र चन्द समेत जोडिएपछि उनीहरु समेत हेडक्वाटर तानिएका छन् । यसअघि नं. ३८ रिजर्भ गणमा कार्यरत हवल्दारद्वय हरि मगर, केशव गुरुङ, नं. २ गण झापामा कार्यरत हवल्दार विश्वास राजवंशी, सशस्त्रको पूर्व क्षेत्रीय अस्पताल सुनसरीमा कार्यरत सइ गणेश खड्का, नं. ४ गण सुनसरीमा कार्यरत जवान पारस यादव तानिएका थिए ।
सशस्त्र प्रहरी बल नेपाल बाहिनी मुख्यालयहरू मातहत सीमा सुरक्षा गुल्मका गुल्मपति तथा बिओपीका कमाण्डहरुको कार्यसम्पादन कमजोर देखिएपछि नौ जनालाई फिर्ता बोलाइएको प्रवक्ता कार्कीले जानकारी दिएका छन् । तर, उनले नाम भने खुलाएका छैनन् । त्यस्तै अनुशासन विपरित कार्य गर्ने ६७ जना कर्मचारीहरुलाई समेत कारवाही गरिएको छ । यस क्रममा सशस्त्र प्रहरी बल नेपालको केन्द्रीय कार्यालयमा कार्यरत प्रहरी नायव उपरीक्षक सुदिप रेग्मीसमेत छानविनको दायरामा आउनसक्ने स्रोतले बताएको छ । रेग्मीमाथि केन्द्रीय कार्यालय बसेरै तलसम्म आफ्नो लाइनमा सेटिङ मिलाएको आरोप छ ।
सीमा तस्करीसँग मिलेमतो गरेको पाइएपछि अहिले लामो समयसम्म एउटै जिल्लामा कार्यारत रहेका एक हजार ८०३ जनाको अन्तर जिल्ला सरुवा गरिएको छ । सरुवामा पर्नेमा तराईबाट पहाड र पहाडबाट तराई मिलान गरिएको हो । सीमा अपराध र तस्करी नियन्त्रणलाई उच्च प्राथमिकतामा राख्नुपर्ने निर्देशन जारी गर्दै आर्थिक अनुशासन विपरित कार्यमा संलग्न भएमा जुनसुकै दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुलाई कारवाही गरिने चेतावनीसमेत दिईएको छ ।
यसैगरी अहिले सीमा सुरक्षा र राजस्व चुहावटलाई नियन्त्रण गर्न सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकहरूको नेतृत्वमा फिल्डमै अनुसन्धान गरी तत्काल कारबाही गर्न सक्ने अधिकार सहितको विशेष अनुगमन टोली परिचालन गरिएको छ । भ्रष्टाचार, आर्थिक अनियमितता वा अनुचित प्रभावलाई शून्य सहनशीलताको नीति अनुसार नियन्त्रण गर्ने नीतिलाई पालना गराउन वरिष्ठ प्रहरी उपरीक्षकको कमाण्ड परिचालन गरिएको हो ।
केहिदिन अगाडी मात्रै कोशीमा अतिरिक्त महानिरीक्षक गणेश ठाडा मगरले स्थलगत रुपमै तराईका जिल्लाको अनुगमन गरेर फर्किएका छन् । त्यस क्रममा उनले सीमाबाट हुने तस्करी र त्यसमा संलग्नतामा आफ्नो संगठनका सदस्यहरुको स्थितिको समेत केहि रिपोर्ट लिएर फर्किएका हुन् ।