हिजो बालेन दोषी, आज सुनिता निर्दोष?

<span class='c1'>हिजो बालेन दोषी,</span> <span class='c2'>आज सुनिता निर्दोष?</span>

हिजो काठमाडौं महानगरपालिकाले कुनै पनि कडा निर्णय लिँदा दोष सिधै बालेन शाहमाथि जान्थ्यो। सडकबाट ठेला हटाइयो—दोष बालेनको। फुटपाथ खाली गराइयो—दोष बालेनको। महानगर प्रहरीले कारबाही गर्‍यो—दोष फेरि बालेनकै। सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म एउटै तर्क सुनिन्थ्यो—मेयर भएकाले अन्तिम प्रशासनिक र नैतिक जिम्मेवारी उनैले लिनुपर्छ। त्यतिबेला कसैले "यो त महानगर प्रहरीको स्वतन्त्र निर्णय हो" भनेर मेयरलाई बचाउने प्रयास गरेको याद आउँदैन। बरु नेतृत्व भनेको अधिकारसँगै उत्तरदायित्व पनि हो भन्ने सिद्धान्तलाई जोडदार रूपमा उठाइन्थ्यो।

त्यसैबेला देशको सरकार केपी शर्मा ओलीको नेतृत्वमा थियो। तर महानगरले गरेका कुनै पनि प्रशासनिक निर्णयलाई प्रधानमन्त्रीसँग जोडेर राजनीतिक बहस चलाइएन।किन कि उनी स्वतन्त्र उम्मेदवारबाट जितेर आयेक थिय।प्रधानमन्त्रीलाई दोष दिने अभियान बनेन। किनकि सबैलाई स्पष्ट थियो—काठमाडौं महानगरपालिकाको प्रशासनिक अधिकार र जिम्मेवारी महानगरको नेतृत्वसँग सम्बन्धित विषय हो, संघीय सरकारसँग होइन। संस्थागत जिम्मेवारीको सीमारेखा त्यतिबेला सबैले स्वीकार गरेका थिए। आज परिस्थिति फेरिएको छ। महानगर प्रहरीले wheel lock गर्छ, पार्किङ नियम कार्यान्वयन गर्छ, सडकमा कारबाही गर्छ, सार्वजनिक स्थान व्यवस्थापनका निर्णय लागू गर्छ। तर अहिले प्रश्न उठाउने शैली भने आश्चर्यजनक रूपमा बदलिएको छ। महानगरको नेतृत्वलाई प्रत्यक्ष प्रश्न गर्नुको सट्टा जिम्मेवारी नै नभएको व्यक्तिलाई विवादको केन्द्रमा ल्याउने प्रयास देखिन्छ। यहीँबाट एउटा गम्भीर प्रश्न उठ्छ—के हाम्रो सिद्धान्त व्यक्ति अनुसार बदलिन्छ? कि जिम्मेवारीको मापदण्ड पनि राजनीतिक आस्था र दलगत निष्ठाअनुसार परिवर्तन हुन्छ?

यदि हिजो महानगर प्रहरीको हरेक कदमका लागि मेयरलाई जिम्मेवार ठानिएको थियो भने आज पनि त्यही मापदण्ड लागू हुनुपर्छ। यदि नेतृत्वलाई अन्तिम जवाफदेही मान्ने तर्क हिजो सही थियो भने आज पनि त्यो सही नै हुनुपर्छ। सिद्धान्तको मूल्य त्यतिबेला मात्र हुन्छ जब त्यो सबैका लागि समान रूपमा लागू हुन्छ। व्यक्ति फेरिँदा नियम फेरिने हो भने त्यो सिद्धान्त होइन, राजनीतिक सुविधा मात्र हो। वास्तविक समस्या wheel lock को पक्ष वा विपक्षमा हुनु होइन। वास्तविक समस्या कानुनभन्दा माथि राजनीतिक पूर्वाग्रहलाई राख्ने प्रवृत्ति हो। आफ्ना मान्छे हुँदा कानुनको समर्थन गर्ने, अर्काले लागू गर्दा त्यसलाई दमन भन्ने संस्कृतिले लोकतन्त्रलाई बलियो बनाउँदैन। आफ्ना हुँदा मौन बस्ने र विपक्षी हुँदा मात्र आक्रोश व्यक्त गर्ने व्यवहारले न्यायको होइन, पक्षपातको राजनीति गर्छ। लोकतन्त्रमा कानुनको मूल्य त्यसबेला प्रमाणित हुन्छ जब त्यसलाई लागू गर्ने व्यक्ति होइन, कानुनको आधार हेरिन्छ। हामीले संस्थालाई बलियो बनाउनुपर्ने हो, व्यक्तिलाई होइन। तर हाम्रो राजनीतिक संस्कृतिमा प्रायः अनुहार सिद्धान्तभन्दा ठूलो बनाइन्छ। आफ्नो पक्षको व्यक्ति सत्तामा हुँदा कमजोरीलाई पनि उपलब्धि भनेर व्याख्या गरिन्छ, विपक्षी हुँदा उपलब्धिलाई पनि असफलता वा अपराधका रूपमा चित्रित गरिन्छ। यही प्रवृत्तिले तथ्यलाई कमजोर बनाएको छ, भावनालाई राजनीतिक हतियार बनाएको छ र सार्वजनिक बहसलाई तर्कभन्दा प्रचारमा सीमित बनाएको छ।

राजनीतिक आस्था हुनु स्वाभाविक हो। विचार फरक हुनु लोकतन्त्रको सुन्दर पक्ष हो। तर सत्यलाई आफ्नो राजनीतिक सुविधा अनुसार मोड्ने अधिकार कसैसँग छैन। समर्थन वा विरोध तथ्यका आधारमा हुनुपर्छ, पार्टीका आधारमा होइन। जिम्मेवारी जहाँ छ, प्रश्न पनि त्यहीँ पुग्नुपर्छ। प्रत्यक्ष जिम्मेवार व्यक्तिलाई छोडेर अरूलाई दोष दिनु न त न्याय हो, न त जिम्मेवार राजनीतिक व्यवहार। यदि हिजो बालेन शाह महानगर प्रहरीका हरेक कदमका लागि जवाफदेही थिए भने आजको महानगर नेतृत्व पनि आफ्नो प्रशासनिक जिम्मेवारीबाट भाग्न मिल्दैन। त्यसैगरी, यदि हिजो प्रधानमन्त्रीलाई महानगरका निर्णयमा जोडेर राजनीतिक आरोप लगाइएको थिएन भने आज पनि प्रत्यक्ष सम्बन्ध नभएको पदलाई विवादमा तान्नु तथ्यमा आधारित राजनीति होइन। यो केवल जनमतलाई भ्रमित गर्ने प्रयास हो। एउटै देशमा दुई कानुन हुन सक्दैन। एउटै संस्थामा दुई प्रकारको उत्तरदायित्व हुन सक्दैन। अनि एउटै घटनामा व्यक्ति फेरियो भन्दै दुईवटा फरक सत्य पनि हुन सक्दैन। न्यायको आधार व्यक्ति होइन, सिद्धान्त हुनुपर्छ। लोकतन्त्रको शक्ति पनि त्यहीँबाट आउँछ।

राजनीति विश्वासको प्रतिस्पर्धा हुन सक्छ, विचारको संघर्ष हुन सक्छ। तर सत्यलाई आफ्नो सुविधाअनुसार व्याख्या गर्ने छुट कसैलाई छैन। जब हामी व्यक्तिभन्दा सिद्धान्त, दलभन्दा संस्था र भावनाभन्दा तथ्यलाई माथि राख्न सिक्छौँ, त्यहीँबाट स्वस्थ लोकतान्त्रिक संस्कृतिको निर्माण सुरु हुन्छ। त्यसैले अन्तिम कुरा फेरि पनि उही हो—जिम्मेवारी जहाँ छ, प्रश्न पनि त्यहीँ पुग्नुपर्छ। बाँकी सबै राजनीतिक सुविधा, पूर्वाग्रह र अवसरवादको अर्को रूप मात्र हो।

हरि ॐ ।🙏
(जानकरि को लागि म रास्पाको सदस्य हैन ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्