विराटनगर । नेपालीका घरमा भित्रिएका ठूला चाडपर्वलाई लक्षित गर्दै बुधवबारबाट देशैभरि विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको छ । सर्वसाधारण नागरिकको सुरक्षादेखि औद्योगिक प्रतिष्ठान र सडक सुरक्षासम्मका विषय विशेष सुरक्षा योजनामा समेटिएका छन् ।
देशभरी सुरक्षा योजना कार्यन्वयनमा आउँदा मोरङमा समेत यहाँको भुगोल र अवस्था विश्लेषण गरेर यसलाई लागु गरिएको प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता मकेन्द्र सिंह मिश्रले जानकारी दिएका छन् । उनका अनुसार चोरी एवं लुटपाटका घटना नियन्त्रण रणनीतिदेखि सीमाबाट हुनसक्ने अपराध निगरानीसम्मलाई प्रहरीले प्राथमिकतामा राखेको छ । दशैंदेखि छठपर्वको भोलिपल्ट कार्तिक ३० गतेसम्म विशेष सुरक्षा योजना कार्यान्वयनमा रहने छ। यस अवधीमा जिल्लाभर अहिले रहेको प्रहरी जनशक्तिमा थप फोर्स परिचालन हुनेछ ।
योजना कार्यान्वयनको समय र थप जनशक्ति एवं प्रविधि परिचालनको दृष्टिकोणले विगतभन्दा यसपालिको विशेष सुरक्षा योजना केही फरक रहेको प्रवक्ता मिश्रले दावी गरेका छन् । विगतमा घटनास्थापनादेखि विशेष सुरक्षा योजना लागु गरिँदै आएकोमा यस पटक मोरङमा सोह्रश्राद्धको मध्यबाटै सुरु गरिएको हो । यस अन्तर्गत प्रहरीले यात्रु सहायता कक्ष स्थापना गरिसकेको छ । सीमा क्षेत्रमा विशेष निगरानीदेखि विशेष प्रहरी टोलि परिचालन समेत गरिसकिएको छ ।
घर तथा व्यावसायिक प्रतिष्ठान र बैंक तथा वित्तीय संस्थाको विशेष सुरक्षा व्यवस्था अपनाइएको छ। सवारी दुर्घटना न्यूनीकरणका लागि यात्रु तथा राजमार्ग सुरक्षामा समेत ध्यान केन्द्रीत गरिएको छ । महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा लैङ्गिक एवं यौनिक अल्पसङ्ख्यकहरूको सुरक्षामा विशेष ध्यान दिइने प्रहरीले जनाएको छ।