सर्लाही। सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी मिलका सञ्चालक शैलेन्द्र गुप्ता र उनका सहयोगी विनोद साह कलवार उखु किसानको करिब २२ करोड रुपैयाँ बक्यौता भुक्तानी नगरेको आरोपमा पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले किसानहरूबाट प्राप्त उजुरीका आधारमा दुवै जनालाई नियन्त्रणमा लिई ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी बेदप्रसाद गौतमका अनुसार चिनी मिलले गत आर्थिक वर्षमा खरिद गरेको उखुको करिब २२ करोड रुपैयाँ किसानलाई हालसम्म भुक्तानी नगरेपछि पीडित किसानहरूले प्रहरीमा उजुरी दिएका थिए।
प्रहरीका अनुसार किसान र मिल व्यवस्थापनबीच पटक–पटक छलफल गराई बक्यौता रकम भुक्तानी गराउने प्रयास गरिएको थियो। तर, उद्योग पक्षले रकम भुक्तानी नगरेपछि कानुनी प्रक्रिया अघि बढाउँदै सञ्चालक गुप्ता र उनका सहयोगी कलवारलाई पक्राउ गरिएको हो । प्रहरीले दुवै जनाविरुद्ध सर्लाही जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जनाएको छ।
उखु किसानहरूले लामो समयदेखि आफ्नो बक्यौता रकम भुक्तानीको माग गर्दै मिल व्यवस्थापनसँग आग्रह गर्दै आएका थिए। भुक्तानी नपाएपछि उनीहरू उखु किसान संघको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय सर्लाही पुगेका थिए।