विराटनगर । नेपाली कांग्रेसले सातवटै प्रदेश सरकारमा नेकपा (एमाले) सँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेको छ। प्रदेश सरकारहरूमा एमालेको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै कांग्रेसले आफ्ना सबै मन्त्रीलाई फिर्ता बोलाउने तयारी गरेको हो।
पार्टी स्रोतका अनुसार कांग्रेस र एमालेका शीर्ष नेताबीच लगातार छलफल भए पनि सहमति जुट्न नसकेपछि सत्ता सहकार्य अन्त्य गर्ने निष्कर्षमा कांग्रेस पुगेको हो। कांग्रेसका एक पदाधिकारीका अनुसार सातै प्रदेश सरकारमा रहेका कांग्रेसका मन्त्रीहरूलाई फिर्ता बोलाइने निर्णय भएको छ।
यसअघि बुधबार कर्णाली प्रदेश सरकारबाट कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएका थिए भने सुदूरपश्चिम प्रदेशमा कांग्रेस नेतृत्वको सरकारले एमालेका मन्त्रीहरूलाई बर्खास्त गरेको थियो।
हाल कर्णालीमा एमाले नेतृत्वको सरकार छ भने सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकार रहेको छ। अब अन्य प्रदेशहरूमा पनि एमाले–कांग्रेसबीचको सत्ता सहकार्य औपचारिक रूपमा अन्त्य हुने तयारी रहेको स्रोतले जनाएको छ।
कांग्रेसभित्र नेकपासँग नयाँ राजनीतिक समझदारी सम्भव भए सरकारमा रहने, अन्यथा सबै प्रदेशमा प्रतिपक्षी बेञ्चमा बस्ने विकल्पबारे समेत अनौपचारिक छलफल भइरहेको जनाइएको छ।