विराटनगर । श्रावण महिनाको धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्वलाई प्रवर्द्धन गर्दै महिला उद्यमशीलतालाई प्रोत्साहन गर्ने उद्देश्यले विराटनगरमा दुईदिने ‘श्रावण मेला–२०२६’ आयोजना हुने भएको छ।
माहेश्वरी महिला मञ्च, विराटनगर को आयोजनामा हुने मेलाको उद्घाटन साउन ५ गते ९आइतबार० कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीको प्रमुख आतिथ्यमा गरिने आयोजकले जनाएको छ। कार्यक्रम मारवाडी सेवा सदन, विराटनगर मा बिहान १० बजे बजेदेखि सञ्चालन हुनेछ।
आयोजकका अनुसार प्रत्येक वर्ष आयोजना हुँदै आएको यो मेला यस वर्ष पनि धार्मिक, सांस्कृतिक मनोरञ्जन र महिला उद्यमशीलतालाई एउटै थलोमा जोड्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको हो।

मेलामा श्रावण महिनासँग सम्बन्धित विभिन्न आकर्षक प्रतियोगिताहरू सञ्चालन गरिनेछन्। शिवजी तथा श्रावणसम्बन्धी भजन रिल प्रतियोगिता, श्रावण पहिरनमा रिल प्रतियोगिता तथा मिसम्याच ग्ल्याम प्रतियोगिता मुख्य आकर्षणका रूपमा रहनेछन्। उत्कृष्ट सहभागीलाई पुरस्कार तथा सम्मानसमेत प्रदान गरिने आयोजकले जनाएको छ।
यसका साथै महिला उद्यमीहरूले उत्पादन गरेका वस्तुको प्रवर्द्धनका लागि विभिन्न स्टलहरू राखिनेछन्। मेलामा लुगा, खाद्यान्न, घरेलु सामग्री, कस्मेटिक लगायतका उत्पादनहरूको प्रदर्शनी तथा बिक्री गरिनेछ। स्थानीय महिला उद्यमीलाई बजार विस्तारको अवसर उपलब्ध गराउनु मेलाको प्रमुख उद्देश्य रहेको आयोजकको भनाइ छ।
आयोजकका अनुसार दुई दिनसम्म सञ्चालन हुने श्रावण मेलामा धार्मिक वातावरणसँगै मनोरञ्जन, किनमेल र महिला उद्यमीका उत्पादनहरूको अवलोकन गर्ने अवसर समेत रहनेछ।