खोटाङ। बाढीले बगाउँदा खोटाङमा एकै दिन दुई जनाको मृत्यु भएको छ । अविरल वर्षापछि खोला खोल्सामा आएको बाढीले बगाएर नेर्पामा एक महिला र बाक्सिलामा एक वृद्धको ज्यान गएको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित माम्खाकी ४३ वर्षीया शान्ता राईलाई घर नजिकै छाङ्गे खोलामा मृत अवस्थामा भेटिएको थियो । यस्तै, केपिलासगढी गाउँपालिका–४ बाक्सिला गैरी गाउँस्थित ७१ वर्षीय पर्शुराम परियार खहरे खोल्सा तर्नेक्रममा बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतका अनुसार साउन २ गते अपरान्ह ४ बजे घरबाट हिँडेकी शान्दा राई घर नर्फिएपछि खोजी गर्ने क्रममा घर नजिकै ५० मिटरको दुरीमा रहेको छाङ्गे खोलामा मृत फेला परेकी थिइन् । राती साढे ८ बजे आफन्तले खोलामा मृत भेटाएर प्रहरीलाई खबर गरेको थिए ।
यस्तै, साउन २ गते साँझ ७ बजे पर्शुराम परियारलाई खहरे खोल्साले बगाएर १०० मिटर तल झारेको अवस्थामा आफन्तले मृत भेटाएको प्रहरी निरीक्षक बस्नेतले बताउनुभयो ।