विराटनगर । विराटनगरको मेनरोडस्थित काली मन्दिरका नामको जग्गा अतिक्रमण हटाउने तयारी थालिएको छ । मन्दिरको नाममा रहेको जग्गा व्यक्ति नाममा दर्ता गराएर भोगचलन भइरहेको छ । दुई तहका अदालतले मन्दिरको जग्गा मन्दिरकै हुने फैसला गरिसकेकोले स्थानीय प्रशासनले अतिक्रमण हटाउने तयारी थालेको हो ।
फिल्ड बुकमा मन्दिरकै नाममा रहेको जग्गालाई २०४२ सालतिर आएको सर्भे नापीको बेलामा मन्दिरका तत्कालीन पुजारी केशवप्रसाद ढकालले साढे १२ धुर जग्गा आफ्ना नाममा नपाएर धनीपूर्जा लिएका थिए । मन्दिर व्यवस्थापन समितिले पछि सो कुरा थाहा पाएपछि जग्गा फिर्ता लिन कार्वाही अघि बढाएको थियो । पुजारी केशवप्रसाद ढकालको निधनपछि उनकी श्रीमती उमादेवी ढकालको नाममा जग्गा नामसारी गरी बिक्री गर्न खोज्दा रहस्य खुलेको थियो ।
समितिको पत्रका आधारमा मालपोत कार्यालय विराटनगरले सो जग्गा मन्दिरकै नाममा कायम गरिदिएको थियो । मालपोत कार्यालयको निर्णयविरूद्ध उमादेवी ढकालले जिल्ला अदालत मोरङमा मुद्दा दायर गरेकोमा जिल्ला अदालतले जग्गा मन्दिरकै हुने फैसला गरेको थियो ।
सो फैसलाको विरूद्धमा उमादेवी ढकालले उच्च अदालत विराटनगरमा मुद्दा दायर गरेकी थिइन् । उच्च अदालत विराटनगरले काली मन्दिरको जग्गा व्यक्तिको नाममा नभै मन्दिरकै हुने फैसला गर्दै विपक्षी उमादेवी ढकालले दायर गरेको मुद्दा २०८१ सालमा खारेज गरिदिएको थियो ।