सरकारद्वारा प्रतिबन्धित वस्तुहरूको बिक्री वितरण नगर्न विभागको चेतावनी

<span class='c1'>सरकारद्वारा प्रतिबन्धित वस्तुहरूको बिक्री</span> <span class='c2'>वितरण नगर्न विभागको चेतावनी</span>

काठमाडौं । नेपाल सरकार, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले वैधानिक रूपमा प्रतिबन्ध लगाइएका वस्तुहरूको बिक्री वितरण नगर्न कडा चेतावनी दिएको छ ।

विभागले सोमबार एक सूचना जारी गर्दै प्रतिबन्धित सामानहरूको अनधिकृत पैठारी, भण्डारण र बिक्री वितरण गर्ने कार्य गैरकानुनी भएको भन्दै सबै सरोकारवालाहरूलाई सचेत गराएको हो । निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ को दफा ३ को उपदफा (१) बमोजिम सरकारले विभिन्न समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी केही वस्तुहरूको आयात र निर्यातमा पूर्ण वा परिमाणात्मक बन्देज लगाएको छ । विभागका अनुसार वि.सं. २०७६/०३/०२ र २०७६/१२/२४ लगायतका विभिन्न मितिहरूमा राजपत्रमा सूचना प्रकाशन गरी यस्ता वस्तुहरूको पैठारीमा शर्त वा निश्चित अवधि तोकी वा पूर्ण रूपमा मनाही गरिएको छ । यद्यपि, सरकारले बन्देज लगाएका यस्ता वस्तुहरू अहिले पनि बजारमा भौतिक रूपमा मात्र नभई विभिन्न डिजिटल प्ल्याटफर्महरू (अनलाइन माध्यम) मार्फत समेत निर्बाध रूपमा बिक्री वितरण भइरहेको गुनासो र उजुरीहरू प्राप्त भएको विभागले जनाएको छ । यसरी प्रतिबन्धित वस्तुहरूको व्यापार भइरहेको प्रति विभागले आफ्नो गम्भीर ध्यानाकर्षण भएको समेत बताएको छ ।

विभागले सबै पैठारीकर्ता, सञ्चयकर्ता र बिक्रेताहरूलाई कानुनले तोके बमोजिमको दायित्व र शर्त बन्देजहरूको पूर्ण पालना गरी मात्र व्यापार व्यवसाय सञ्चालन गर्न निर्देशन दिएको छ । यदि कानुनविपरीतका कार्यहरू गरेको पाइएमा निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३, उपभोक्ता संरक्षण ऐन, २०७५ र अन्य प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी समेत विभागले दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्