विराटनगर। विराटनगरस्थित विराट स्पोर्ट्स जोनमा आयोजित ‘गो-कार्ट किड्स च्याम्पियनसिप २०२६’ भव्य रूपमा सम्पन्न भएको छ। बालबालिकाहरूमा लुकेर रहेको प्रतिभा उजागर गर्ने र उनीहरूलाई रोमाञ्चक खेलकुदको नयाँ अनुभव प्रदान गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको हो।
प्रतिस्पर्धात्मक खेलमा उत्कृष्ट प्रदर्शन गर्दै जुनियर तर्फ अनुभव खनाल ले 'जुनियर च्याम्पियन' को उपाधि हात पारेका छन्। त्यसैगरी, सिनियर तर्फको कडा प्रतिस्पर्धामा सौर्य सिग्देल अग्रस्थान हासिल गर्दै 'सिनियर च्याम्पियन' बन्न सफल भएका छन्। 'भाइरल इभेन्ट्स एण्ड इन्टरटेनमेन्ट' र 'द विज्ञापन' को संयुक्त आयोजनामा सम्पन्न उक्त प्रतियोगिताको भेन्यू पार्टनरका रूपमा 'विराट स्पोर्ट्स जोन' रहेको थियो। कार्यक्रमको समापन समारोहमा विजेता तथा सहभागी खेलाडीहरूलाई ट्रफी, प्रमाणपत्र र विभिन्न आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरी सम्मानित गरिएको आयोजक समितिले जनाएको छ।

