विषयभन्दा बाहिर बोलेर संसद्को समय दुरुपयोग नगर्न सभामुखको रुलिङ माग

<span class='c1'>विषयभन्दा बाहिर बोलेर संसद्को समय</span> <span class='c2'>दुरुपयोग नगर्न सभामुखको रुलिङ माग</span>

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष खनालले संसदमा आकस्मिक समय मागेर असम्बन्धित विषयमा बोल्ने प्रवृत्ति बढेको भन्दै त्यसलाई नियन्त्रण गर्न सभामुखसँग रुलिङको माग गरेका छन् । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद खनालले प्रतिनिधिसभा नियमावलीको पालना प्रभावकारी रूपमा हुनुपर्नेमा जोड दिए । उनले संसदले आफैं बनाएको नियमावलीमा बोल्न पाउने अधिकारको दुरुपयोग गर्न नहुने स्पष्ट व्यवस्था रहेको स्मरण गराए ।

उनले भने, ‘हामी सबैजनाले मिलेर सर्वदलीय समिति बनाएर तयार गरेको यसै प्रतिनिधिसभा नियमावलीको नियम २१ को उपनियम (९) मा बोल्न पाउने अधिकारलाई सदनको कार्यमा बाधा पर्ने मनसायले दुरुपयोग गर्न नहुने भनेर स्पष्ट रूपमा लेखेका छौं ।’ सांसद खनालले नियमावलीको नियम १५ अनुसार शून्य समय, विशेष समय र आकस्मिक समयको छुट्टाछुट्टै व्यवस्था गरिएको उल्लेख गर्दै ती समयको उद्देश्यअनुसार नै सांसदहरूले आफ्ना धारणा राख्नुपर्ने बताए। उनले भने, ‘नियमावलीको नियम १५ ले आवश्यक ठानेका विषय शून्य समय र विशेष समयमार्फत राख्न पाउने तथा आकस्मिक विषय भए सभामुखलाई जानकारी गराएर आकस्मिक समयमा उठाउन पाउने स्पष्ट व्यवस्था गरेको छ ।’

पछिल्ला केही दिनयता संसदमा आकस्मिक समय मागेर बजेट, निर्वाचन क्षेत्र तथा अन्य असम्बन्धित विषय उठाउने प्रवृत्ति बढेको उनको भनाइ थियो। उनले भने, ‘पछिल्ला केही दिनयता संसदको गतिविधि हेर्दा विपक्षमा बस्ने माननीय सदस्यहरूले कुनै एउटा विषयमा बोल्न स्वीकृति लिनुहुन्छ, तर बोल्न सुरु गरेपछि बजेटदेखि आफ्ना निर्वाचन क्षेत्रका विषय र विभिन्न अन्य विषय उठाउनु भएको छ। यसले शून्य समय, विशेष समय र आकस्मिक समयको छुट्टाछुट्टै व्यवस्था गरिएको मर्मकै अपमान भएको महसुस भएको छ ।’ यस प्रवृत्तिलाई रोक्न सभामुखले स्पष्ट रुलिङ गर्नुपर्ने उनको माग थियो।

उनले भने, ‘त्यसैले जसरी कुनै विषयमा बोल्न अनुमति लिइएको हुन्छ, त्यही विषयमा केन्द्रित भएर मात्र धारणा राख्ने व्यवस्था गर्न सभामुखमार्फत रुलिङ होस् भन्ने आग्रह छ । साथै शून्य समय, आकस्मिक समय र विशेष समयको महत्वलाई सम्पूर्ण माननीय सदस्यहरूले ख्याल राखिदिन पनि अनुरोध गर्न चाहन्छु।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्