अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, केहीमा रात्रीकालीन आवागमन रोक

<span class='c1'>अविरल वर्षाले देशभरका विभिन्न सडक</span> <span class='c2'>अवरुद्ध, केहीमा रात्रीकालीन आवागमन रोक</span>

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो तथा सडक कटान हुँदा प्रमुख राजमार्ग र सडकखण्डहरू अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार इलाम, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, रुकुम पूर्व र रोल्पाका सडकमा सवारी आवागमन प्रभावित भएको छ।

प्रहरीका अनुसार इलाम नगरपालिका–९ राजदुवालीमा हिलोले मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त सडकखण्डमा वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ। त्यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ चारकिलो पहिरो लिपिङमा सडक भासिँदा अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा सडक कटान हुँदा त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी कच्ची सडकखण्ड पनि पूर्ण रूपमा बन्द भएको छ। यसैगरी रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोला नजिक पहिरो खस्दा भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

रुकुम पूर्वको भूमे गाउँपालिका–४ काडाबगर र धौलापहिरामा पहिरो खसेपछि मध्यपहाडी लोकमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। रोल्पाको थबाङ गाउँपालिका–२ लाप्लेभिर र दबाङमा भूक्षय तथा पहिरोका कारण घोराही–थबाङ सहिद मार्गका दुई स्थान अवरुद्ध भएका छन्। अवरुद्ध सडकखण्ड खुलाउन सम्बन्धित निकाय तथा स्थानीय तहसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ। सम्भावित बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै केही सडकमा निश्चित समयका लागि सवारी आवागमनमा रोक लगाइएको छ।

काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा हरेक दिन साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। त्यस्तै, मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण अपराह्न ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधनको आवागमन रोकिएको प्रहरीले जनाएको छ। प्रहरीले वर्षाका कारण सडकमा बाढी, पहिरो तथा सडक कटानको जोखिम रहेकाले यात्रा गर्नुअघि सडकको अवस्था बुझ्न र जोखिमयुक्त क्षेत्रमा आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्